चीन-इयू सम्बन्ध प्रगाढ बनाउन फ्रान्सले भूमिका खेल्नुपर्ने बेइजिङको आग्रह
काठमाडौँ, मंसिर ११ । चीनले युरोपेली सङ्घ (इयू) सँगको सम्बन्धलाई थप सुदृढ र घनिष्ठ बनाउन फ्रान्सले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ । चिनियाँ वरिष्ठ कूटनीतिज्ञ एवं विदेशमन्त्री वाङ यीले बिहीबार फ्रान्सेली राष्ट्रपतिका कूटनीतिक सल्लाहकार इम्यानुएल बोनसँगको टेलिफोन वार्तामा यस्तो धारणा राख्नुभएको हो ।
चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, वाङ यीले इयूलाई चीनप्रति सकारात्मक र तर्कसंगत नीति अपनाउन प्रोत्साहित गर्न फ्रान्ससँग आग्रह गर्नुभएको छ । उहाँले चीन-इयू सम्बन्धको स्वस्थ विकासलाई सही मार्गमा अघि बढाउन फ्रान्सको सहयोग महत्त्वपूर्ण हुने बताउनुभयो । वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति अशान्ति र परिवर्तनको दौरबाट गुज्रिरहेको उल्लेख गर्दै वाङ यीले यस्तो अवस्थामा चीन र फ्रान्सबिच गहिरो सम्बन्ध र सहकार्यको आवश्यकता औँल्याउनुभयो ।
समाचार अनुसार, फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले बेइजिङ भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । साथै, आगामी वर्ष फ्रान्सले जी–७ राष्ट्रहरूको अध्यक्षता ग्रहण गर्दैछ। यस क्रममा म्याक्रोँले आर्थिक र व्यापारिक मामिलाहरूलाई प्राथमिकताका साथ उठाउने अपेक्षा गरिएको छ। हाल क्यानडाले जी-७ को अध्यक्षता गरिरहेको छ ।
वार्ताका क्रममा वाङ यीले फ्रान्सलाई ‘एक चीन’ सिद्धान्तको पूर्ण पालना गर्न आग्रह गर्नुभयो । बेइजिङले ताइवानलाई आफ्नो अभिन्न अङ्ग मान्दै आएको छ र विश्व समुदायलाई एक चीन नीतिको समर्थन गर्न आह्वान गर्दै आएको छ ।
दुई देशबिच एक–अर्काको मुख्य हितसँग सम्बन्धित मुद्दाहरूमा दृढ समर्थन हुनुपर्नेमा वाङ यीले जोड दिनुभयो । यसअघि राष्ट्रपति म्याक्रोँले दक्षिण चीन सागरको अवस्थालाई युक्रेन युद्धसँग जोड्दै दिएको अभिव्यक्तिप्रति चीनले असन्तुष्टि जनाएको थियो ।
पछिल्लो समय जापानी प्रधानमन्त्री साने ताकाइचीले ताइवानमा आक्रमण भए टोकियोले सैन्य हस्तक्षेप गर्न सक्ने टिप्पणी गरेपछि चीन र जापानबिचको सम्बन्ध चिसिएको छ। वाङ यीले उक्त टिप्पणीलाई ‘उत्तेजक’ भन्दै बेइजिङको अडान दोहोर्याउनुभएको छ ।
