अमेरिकाद्वारा १९ देशका नागरिकको ग्रीन कार्ड पुनरावलोकन गर्ने घोषणा

काठमाडौँ, मंसिर १२ । अमेरिकी सरकारले ‘सुरक्षाका दृष्टिले संवेदनशील’ मानिएका १९ वटा देशका नागरिकहरूलाई प्रदान गरिएको ग्रीन कार्ड (स्थायी बसोबास अनुमति) को व्यापक पुनरावलोकन गर्ने निर्णय गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रत्यक्ष निर्देशनमा यो कदम चालिएको हो । गत बुधबार राजधानी वासिङ्टन डिसीमा नेसनल गार्डका सुरक्षाकर्मीहरूमाथि गोली प्रहारको घटना भएपछि ट्रम्प प्रशासनले आप्रवासन नीतिमा कडाइ गर्दै यस्तो निर्देशन दिएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ ।

अमेरिकी नागरिकता तथा अध्यागमन सेवा (युएससीआईएस) का निर्देशक जो एड्लोले राष्ट्रपतिको निर्देशनबमोजिम सम्बन्धित देशका सबै विदेशी नागरिकका ग्रीन कार्डको ‘पूर्ण र कठोर’ पुनः परीक्षण गर्न आदेश दिइएको पुष्टि गरेका छन् । एड्लोका अनुसार राष्ट्रिय सुरक्षालाई प्राथमिकतामा राख्दै पहिले जारी भएका अनुमतिहरूलाई पुनः जाँच गर्न लागिएको हो ।

युएससीआईएसले जुन महिनामा जारी गरिएको राष्ट्रपतिको घोषणामा सूचीकृत १. अफगानिस्तान, २. म्यानमार (बर्मा), ३. चाड, ४. कंगो गणतन्त्र, ५. इक्वेटोरियल गुएना, ६. एरिट्रिया, ७. हैटी, ८. इरान, ९. लिबिया, १०. सोमालिया, ११. सुडान, १२. यमन, १३. बुरुन्डी, १४. क्युबा,  १५. लाओस, १६. सिएरा लियोन, १७. टोगो, १८. तुर्कमेनिस्तान र  १९. भेनेजुएला ‘सुरक्षाका दृष्टिले संवेदनशील’ देशका रूपमा वर्गीकरण गरेको छ ।

वाशिङ्टनमा भएको गोलीकाण्डमा संलग्न आरोपीको पहिचान अफगान नागरिक रहमानउल्लाह लाकानवालका रूपमा खुलेपछि प्रशासनले आप्रवासन नियन्त्रणलाई थप कडा बनाएको हो । यस घटनाले अमेरिकाको आन्तरिक सुरक्षा र आप्रवासन प्रणालीमा गम्भीर प्रश्न खडा गरेको भन्दै ह्वाइट हाउसले तत्कालका लागि यी देशहरूबाट हुने आप्रवासन प्रक्रिया र पुराना फाइलहरूको पुनरावलोकनलाई तीव्रता दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *