मलेसियाको बाढीमा २६ हजारभन्दा बढी विस्थापित : एक बालकको मृत्यु
काठमाडौँ, मंसिर १२ । मलेसियामा जारी भीषण वर्षा र बाढीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । बाढीको प्रकोप बढ्दै जाँदा हालसम्म २६ हजारभन्दा बढी नागरिक विस्थापित भएका छन् भने एक बालकको ज्यान गएको छ । बाढीको पानीमा बगेर मलक्का राज्यमा एक ११ वर्षीय बालकको मृत्यु भएको पुष्टि भएको छ । उद्धारकर्मीहरूले बेपत्ता भएको स्थानभन्दा करिब ६ सय मिटर टाढा बालकको शव फेला पारेका हुन् ।
मलेसियाको सामाजिक कल्याण विभागका अनुसार बाढीका कारण २६ हजार ९२८ जना सर्वसाधारण विस्थापित भई २७३ वटा राहत केन्द्रमा आश्रय लिइरहेका छन् । बाढीको सर्वाधिक प्रभाव कलान्तान राज्यमा परेको छ। त्यहाँ दर्जनौँ गाउँ डुबानमा परेका छन् भने यातायात सम्पर्क विच्छेद भएको छ।
मलक्का जलसन्धिबाट प्रवेश गरेको उष्णकटिबन्धीय आँधी ‘सेन्यार’ का कारण लगातार वर्षा र तीव्र हावाहुरी चलिरहेको मौसम विभागले जनाएको छ । बाढीले सडक तथा पुलहरूमा क्षति पुर्याउँदा प्रभावित क्षेत्रमा उद्धार टोली पुग्न कठिनाइ भइरहेको छ । यद्यपि, स्थानीय प्रशासनले जोखिममा परेकाहरूलाई सुरक्षित स्थानमा सार्ने र राहत वितरण गर्ने कार्यलाई तीव्रता दिएको छ ।
मौसमविद्हरूले बाढीको स्थिति अझ बिग्रन सक्ने चेतावनी दिएका छन् । नागरिकहरूलाई उच्च सतर्कता अपनाउन र प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ । केही दिनसम्म वर्षा र आँधीको प्रभाव कायमै रहने अनुमान गरिएकाले थप क्षति हुन नदिन विपद् व्यवस्थापन टोलीहरूलाई तयारी अवस्थामा राखिएको छ ।
