हवई सुरक्षा र विकास साझेदारीको विषयमा नेपाल-युरोपेली सङ्घ संयुक्त आयोग बैठकमा
काठमाडौँ, मङ्सिर १३ । नेपाल र युरोपेली सङ्घ (ईयू) बीचको संयुक्त आयोगको १६औँ बैठक शुक्रबार बेल्जियमको ब्रसेल्समा सम्पन्न भएको छ । बैठकमा विकास साझेदारी, व्यापार, जलवायु परिवर्तन, क्षेत्रीय सञ्जाल विस्तार तथा बहुपक्षीय सहकार्यलगायतका महत्त्वपूर्ण विषयहरूमा विस्तृत छलफल भएको नेपाली दूतावास ब्रसेल्सले जनाएको छ ।
बैठकमा दुवै पक्षले नेपाल र ईयूबीचको सम्बन्ध सकारात्मक दिशामा अघि बढेको निष्कर्ष निकालेका छन्। सो अवसरमा युरोपेली सङ्घले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको अन्तरिम सरकारले आर्थिक अनुशासन, सुशासन, जवाफदेहिता र सेवा प्रवाहमा पुर्याएको योगदानको प्रशंसा गरेको थियो ।
नेपालले दिगो विकास लक्ष्य प्राप्तिमा भएको प्रगति प्रस्तुत गर्दै जलवायु परिवर्तन, विपद् व्यवस्थापन र लगानी प्रवर्द्धनमा ईयूको सहकार्य अपरिहार्य रहेको औंल्याएको छ । साथै, नेपालले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई प्रचलित कानुनबमोजिम चाँडै तार्किक निष्कर्षमा पुर्याउने प्रतिबद्धता दोहोर्याएको छ ।
युरोपेली सङ्घले नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति हुन तयार पारेको सङ्क्रमणकालीन रणनीतिको स्वागत गरेको छ। सङ्घले यसअघि नै कार्यान्वयनमा रहेको बहुवर्षीय कार्यक्रममार्फत नेपाललाई सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ। बैठकमा हाल सञ्चालित विभिन्न विकास परियोजनाहरूको प्रगतिको समीक्षा समेत गरिएको थियो ।
नेपालले हवाई सुरक्षा सुधारलाई उच्च प्राथमिकतामा राखेको जानकारी गराउँदै, सन् २०२३ को सेप्टेम्बरमा ईयूको मूल्याङ्कन टोलीले उठाएका विषयहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । साथै, नेपालले युरोपेली सङ्घको हवाई सुरक्षा (एयर सेफ्टी) सूचीबाट नेपाली एयरलाइन्सलाई हटाउन पुनः आग्रह गरेको छ ।
परराष्ट्र सचिव अमृतबहादुर राई र युरोपेली सङ्घको एसिया प्रशान्त विभागका कार्यवाहक प्रबन्ध निर्देशक पाओला पाम्पालोनीको सह-अध्यक्षतामा सम्पन्न यस बैठकले आयोगको १७औँ संस्करण आगामी वर्ष आपसी सहमतिमा काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ ।
