भ्रष्टाचार आरोपपछि युक्रेनी राष्ट्रपतिका प्रमुख सल्लाहकार यर्माकद्वारा राजीनामा
किभ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका प्रमुख सल्लाहकार तथा राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यर्माकले पदबाट राजीनामा दिनुभएको छ । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार यर्माकले शुक्रबार आफ्नो पदबाट राजीनामा दिनुभएको हो ।
रूस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिका र युक्रेनबीच तयार पारिएको शान्ति योजनामा यर्माकले मुख्य वार्ताकारको भूमिका निर्वाह गर्दै आउनुभएको थियो । भ्रष्टाचार सम्बन्धी अनुसन्धानका क्रममा निवासमा छापा मारिएपछि उहाँले पद त्याग गर्नुभएको हो ।
युक्रेनको भ्रष्टाचार अनुसन्धान ब्युरो र विशेष भ्रष्टाचार विरोधी अभियोजन कार्यालयले यर्माकको घरमा छापा मारेको थियो । दुई साताअघि ऊर्जा पूर्वाधारमा ठूलो कमिसनको चलखेल भएको आशंकामा सुरु भएको अनुसन्धानका क्रममा यो कदम चालिएको हो । सोही प्रकरणमा यसअघि नै दुईजना मन्त्रीहरू पदमुक्त भइसकेका छन् । छापा मारिएलगत्तै यर्माकले टेलिग्राममार्फत आफूले अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएका थिए ।
शुक्रबार राति टेलिभिजनमार्फत सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले यर्माकले राजीनामा बुझाएको जानकारी दिनुभयो । सम्बोधनका क्रममा राष्ट्रपति जेलेन्स्कीले भन्नुभयो, “युक्रेनको विषयमा कसैले प्रश्न उठाउन नपरोस् भन्ने मेरो चाहना छ, त्यसैले हामी आन्तरिक निर्णय प्रक्रियामा अघि बढिरहेका छौँ ।”
अमेरिकाको वासिङ्टनसँग भइरहेको संवेदनशील शान्ति वार्ताको समयमा आएको यो घटनाले किभमा राजनीतिक तरङ्ग ल्याएको छ । हालै जेनेभामा भएको अमेरिकी टोलीसँगको वार्तामा युक्रेनी प्रतिनिधिमण्डलको नेतृत्व यर्माकले नै गर्नुभएको थियो । अमेरिकी ट्रम्प प्रशासनले अघि सारेको २८ बुँदे शान्ति प्रस्तावमा रुसको प्रभाव हावी भएको भन्दै त्यसलाई संशोधन गराउन उहाँको महत्वपूर्ण भूमिका थियो ।
राजीनामाले केही दिनमै हुने अर्को चरणको वार्तामा अनिश्चितता थपेको छ । यर्माकको स्थानमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा राष्ट्रपति जेलेन्स्कीले आज सम्भावित उम्मेदवारहरूसँग छलफल गर्ने बताउनुभएको छ ।
यसै बिच , रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यर्माक प्रकरणले युक्रेनमा राजनीतिक अनिश्चितता तीव्र गतिमा बढाइरहेको टिप्पणी गर्नुभएको छ । “अहिले के हुन्छ भन्ने भविष्यवाणी गर्न कठिन छ,” उहाँको प्रतिक्रिया छ ।
युरोपेली संघ (ईयू) को सदस्यताका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त रहेको हुनाले युद्धका बीच पनि राष्ट्रपति जेलेन्स्कीले भ्रष्टाचारविरुद्ध कदमहरू कडा बनाउनुभएको छ । यर्माकको बहिर्गमनले यस्तो संवेदनशील समयमा युक्रेनको कूटनीतिक सन्तुलनमा कस्तो प्रभाव पार्छ भन्ने विषय चासोको केन्द्र बनेको छ ।
