अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको शुभ विवाह : सुटुक्क सम्पन्न

काठमाडौँ, मंसिर १३ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज वैवाहिक बन्धनमा बाँधिनुभएको छ । उहाँले शनिबार राजधानी क्यानबेरास्थित प्रधानमन्त्रीको सरकारी निवास ‘द लज’ मा आयोजित एक निजी समारोहमा आफ्नी प्रेमिका जोडी हेडनसँग लगनगाँठो कस्नुभएको हो ।

यो विवाहसँगै अल्बानिज अस्ट्रेलियाको १२४ वर्षे सङ्घीय सरकारको इतिहासमा प्रधानमन्त्री पदमा बहाल रहेकै अवस्थामा विवाह गर्ने पहिलो नेता बन्नुभएको छ ।

सञ्चारमाध्यमलाई पूर्वजानकारी नदिई अत्यन्त गोप्य राखिएको उक्त समारोहमा केही क्याबिनेट मन्त्री, परिवारका सदस्य र नजिकका मित्रहरूसहित करिब ६० जना विशिष्ट पाहुनाको उपस्थिति थियो । ‘द लज’ को बगैँचामा आयोजित समारोहमा अल्बानिज र हेडनले आफैँले लेखेका वैवाहिक प्रतिज्ञा वाचन गर्नुभएको थियो ।

विवाहमा उहाँहरूको कुकुर ‘टोटो’ ले ‘औँठी वाहक’को भूमिका निभाएको थियो भने हेडनकी पाँच वर्षीया भतिजी एला ‘फ्लावर गर्ल’ का रूपमा सहभागी थिइन् ।

विवाहपछि नवविवाहित जोडीले संयुक्त विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “हामी हाम्रो परिवार र नजिकका प्रियजनहरूका माझ हाम्रो प्रेम, प्रतिबद्धता र भविष्यको संयुक्त जीवन यात्रा साझा गर्न पाउँदा अत्यन्त हर्षित छौँ ।”

६२ वर्षीय अल्बानिज र ४६ वर्षीया वित्त पेसाकर्मी हेडनबीच सन् २०२० मा मेलबर्नको एक व्यापारिक रात्रिभोजमा पहिलो पटक भेट भएको थियो । अल्बानिजले गत वर्षको ‘भ्यालेन्टाइन डे’ का दिन द लजमै हेडनलाई विवाहको प्रस्ताव राख्नुभएको थियो । अल्बानिजको यो दोस्रो विवाह हो । उहाँको अघिल्लो विवाहबाट एक वयस्क छोरा छन् ।

प्रधानमन्त्री अल्बानिजले यसअघि निर्वाचन अगाडि नै भव्य विवाह गर्ने र क्यानाडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडो लगायतलाई आमन्त्रण गर्ने योजना बनाउनुभएको थियो । तर, देशमा बढ्दो महँगी र जीवनयापनको सङ्कटका बिच भव्य समारोह गर्दा जनस्तरमा नकारात्मक सन्देश जाने भन्दै रणनीतिकारहरूको सुझावमा विवाह स्थगित गरिएको थियो ।

बिहीबार संसद्को अधिवेशन सकिएपछि फुर्सदको समय पारेर शनिबार यो शुभकार्य सम्पन्न गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *