श्रीलङ्कामा सार्वजनिक आपतकाल घोषणा

काठमाडौँ, मंसिर १३ । श्रीलङ्कामा जारी निरन्तरको खराब मौसम र त्यसबाट सिर्जित विपद्को सामना गर्न सरकारले सार्वजनिक आपतकाल घोषणा गरेको छ । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार दिसानायकले मुलुकमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै सार्वजनिक आपतकालको घोषणा गर्नुभएको हो ।

यो घोषणासँगै सरकारलाई सार्वजनिक सुरक्षा अध्यादेशअन्तर्गत रहेर राष्ट्रव्यापी रूपमा आपतकालीन नियमहरू लागू गर्ने अधिकार प्राप्त भएको छ । सार्वजनिक सुरक्षाको प्रत्याभूति गर्न, शान्ति सुव्यवस्था कायम राख्न र राष्ट्रिय स्थिरता सुनिश्चित गर्न यो कदम चालिएको सरकारले जनाएको छ ।

विपद् व्यवस्थापनका लागि श्रीलङ्काली प्रहरीले प्रहरी महानिरीक्षक (आइजीपी) को प्रत्यक्ष निगरानीमा प्रहरी मुख्यालयमा ‘विशेष अपरेसन युनिट’ स्थापना गरेको छ । सर्वसाधारणको सहयोगका लागि २४सै घण्टा सञ्चालन हुने गरी ल्यान्डलाइन र ह्वाट्सएप हटलाइन सेवा सुरु गरिएको छ ।

देशभरका प्रहरी अधिकारीहरूलाई आ-आफ्नो कार्यक्षेत्रमा मौसमजन्य विपद्को व्यवस्थापन गर्न ‘द्रुत-प्रतिक्रिया टोली’का रूपमा खटाइएको छ । उद्धारका लागि डुङ्गा, गोताखोर उपकरण तथा अन्य अत्यावश्यक सामग्रीसहित सुरक्षाकर्मीहरू तयारी अवस्थामा रहेका छन् । विपद् व्यवस्थापन केन्द्र, सशस्त्र बल र अन्य सरकारी निकायहरूलाई एकीकृत रूपमा संयुक्त आपतकालीन अपरेसनमा परिचालन गरिएको प्रहरीले जनाएको छ ।

बाढी तथा डुबानका कारण विस्थापित भएका परिवारको घर तथा सम्पत्तिको सुरक्षाका लागि विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ । साथै, अस्थायी शिविरमा आश्रय लििरहेका नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न पनि प्रहरीलाई कडा निर्देशन दिइएको छ ।

खराब मौसमका कारण उडान रद्द हुँदा र यातायातमा अवरोध आउँदा अलपत्र परेका विदेशी नागरिकहरूका लागि अध्यागमन तथा आप्रवासन विभागले विशेष सुविधा घोषणा गरेको छ । विभागका अनुसार, नोभेम्बर २८ पछि श्रीलङ्का छाड्न नपाएका यात्रुहरूलाई भिसाको म्याद सकिएको भए पनि जरिवाना र अतिरिक्त शुल्क (ओभरस्टे पेनाल्टी) छुट दिइनेछ । पर्यटक, व्यवसायी र आवासीय भिसा भएका विदेशीहरूका लागि भिसा थप गर्न सात दिनको समय (ग्रेस पिरियड) प्रदान गरिएको छ । विभागले अनलाइन माध्यमबाटै छोटो अवधिको भिसा थप गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *