इन्डोनेसियामा बाढी-पहिरोमा मृत्यु हुनेको सङ्ख्या ५०२ पुग्यो, ५ सयभन्दा बढी अझै बेपत्ता

काठमाडौँ, मंसिर १५ । इन्डोनेसियाको सुमात्रा टापुका विभिन्न स्थानमा आएको विनाशकारी बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ५०२ पुगेको छ । त्यस्तै, विपद्मा परी अझै ५०८ जना बेपत्ता रहेको इन्डोनेसियाको राष्ट्रिय दैवी प्रकोप व्यवस्थापन निकायले सोमबार पुष्टि गरेको छ ।

निकायका अनुसार सुमात्रा टापुका उत्तर सुमात्रा, पश्चिम सुमात्रा र आचे प्रान्त बाढीबाट सबैभन्दा बढी प्रभावित भएका छन् । प्राकृतिक विपत्तिका कारण यी क्षेत्रका करिब ५ लाख ५० हजार नागरिक घरबारविहीन भई विस्थापित भएका छन् ।

बाढी र पहिरोले सडक सञ्जाल बगाउनुका साथै सञ्चार सेवा समेत अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा उद्धार टोली पुग्न कठिनाइ भइरहेको छ । स्थलमार्ग अवरुद्ध भएका कारण अति प्रभावित क्षेत्रमा हेलिकप्टर लगायत हवाई माध्यमबाट मात्र राहत सामग्री पुर्‍याउन सकिने अवस्था रहेको अधिकारीहरूले जनाएका छन् ।

यसैबीच, इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तोले सोमबार सरकारले सम्पूर्ण शक्ति लगाएर उद्धार तथा राहतको काम गरिरहेको जानकारी दिनुभएको छ। उहाँले जलवायु परिवर्तनले निम्त्याएका यस्ता चुनौतीहरूको सामना गर्न मुलुक तयार रहनुपर्ने बताउँदै वातावरण संरक्षण र आगामी दिनमा हुन सक्ने चरम मौसमी घटनाहरूको पूर्वतयारीमा स्थानीय सरकारहरूले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *