जापानमा राजकुमारी आइकोको लोकप्रियतासँगै महिला उत्तराधिकारको बहस तीव्र
काठमाडौँ, मंसिर १५ । जापानकी राजकुमारी आइको सोमबारदेखि २४ वर्ष लाग्नुभएको छ। उहाँको जन्मदिनसँगै बढ्दो लोकप्रियताले जापानको राजसंस्थामा विद्यमान ‘पुरुष मात्र उत्तराधिकार’ सम्बन्धी कानुन परिमार्जनको बहसलाई पुनः सतहमा ल्याएको छ ।
सम्राट नारुहितो र महारानी मासाकोकी एक्ली सन्तान आइकोलाई हालको शाही कानुन (इम्पेरियल हाउस ल-१९४७) अनुसार राजगद्दी आरोहणको अधिकार छैन । कानुनले राजसंस्थाको उत्तराधिकार पुरुष वंशमा मात्र सीमित राखेको छ । तर, आइकोको सालिन व्यक्तित्व र बढ्दो जनसमर्थनका कारण धेरै जापानी नागरिकले उहाँलाई भावी सम्राज्ञीका रूपमा देख्न चाहेका छन् ।
जापानको शाही परिवारको सदस्य सङ्ख्या घट्दै गएर १६ मा सीमित भएको छ । हाल भावी राजाका रूपमा सम्राटका किशोर भतिजा प्रिन्स हिसाहितो मात्र हुनुहुन्छ । शाही परिवारमा पुरुष उत्तराधिकारीको अभाव र घट्दो सदस्य सङ्ख्याले राजतन्त्रको भविष्य नै जोखिममा पर्न सक्ने भन्दै विज्ञहरूले महिलालाई पनि उत्तराधिकारी बन्न दिने गरी कानुन संशोधनको आवश्यकता औँल्याएका छन् । तर, प्रधानमन्त्री साने ताकाइचीलगायतका रूढिवादी नेताहरू परम्परा तोड्न नहुने पक्षमा छन् ।
सन् २०२१ बाट औपचारिक शाही जिम्मेवारी सम्हाल्नुभएकी आइकोले छोटो समयमै जनताको मन जित्न सफल हुनुभएको छ । हालै लाओसको एकल विदेश भ्रमण, नागासाकी र ओकिनावाको भ्रमणमा उहाँले देखाएको परिपक्वता र जनतासँगको सामीप्यले उहाँको लोकप्रियता अझ बढाएको छ । सन् २०२४ मा गाकुसुइन विश्वविद्यालयबाट स्नातक गरेपछि उहाँ हाल जापान रेडक्रस सोसाइटीमा कार्यरत हुनुहुन्छ ।
नागासाकीकी ८२ वर्षीया सेत्सुको मात्सुओ होस् वा ५८ वर्षीया मारी माहिरा, धेरै सर्वसाधारण आइकोलाई राजगद्दीमा देख्न चाहन्छन्। कार्टुनिस्ट योसिनोरी कोबयाशी लगायतका सामाजिक अभियन्ताहरूले महिला उत्तराधिकारको पक्षमा माहोल सिर्जना गरिरहेका छन् । संयुक्त राष्ट्रसङ्घीय महिला अधिकार समितिले समेत जापानको विद्यमान व्यवस्था लैङ्गिक समानता विपरीत रहेको भन्दै सुधारको सुझाव दिएको छ । यद्यपि, जापानले यसलाई राष्ट्रिय पहिचानको विषय भन्दै अस्वीकार गरेको छ ।
अहिले जापान परम्परा जोगाउने कि राजसंस्थाको अस्तित्व रक्षाका लागि आधुनिकता अँगाल्ने भन्ने दोसाँधमा उभिएको छ। राजकुमारी आइकोप्रति देखिएको ‘पप–स्टार’ शैलीको आकर्षणले यो बहसलाई अझ पेचिलो बनाएको छ ।
