समानुपातिक निर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं, १९ मंसिर । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको छ।

शुक्रबार सूचना निकालेर आयोगले मंसिर २१ गतेदेखि २३ गतेसम्म दल दर्ताका लागि समय दिएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०८२ को अनुसूची बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ।

प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने दलहरू प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रयोजनका लागि राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४८ वा दफा ४९ बमोजिम आयोगमा दर्ता भएको हुनुपर्नेछ। प्रत्यक्षतर्फ निर्वाचन प्रयोजनका लागि हाल ११७ वटा दल दर्ता भएका छन्।

समानुपातिक उम्मेदवार सूचीमा कम्तीमा ५० प्रतिशत महिला अनिवार्य
राजनीतिक दलले निवेदन दिँदा सम्बन्धित दलको केन्द्रीय समितिले निर्णय गरी अधिकार प्रदान गरेको पदाधिकारीले हस्ताक्षर गरिदिनुपर्नेछ। एकल चुनाव चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने दलहरूको हकमा सबै दलको केन्द्रीय समितिले संयुक्त वा अलग-अलग रूपमा निर्णय गरी एउटै व्यक्तिलाई अधिकार दिएकोमा त्यस्तो अधिकार प्राप्त व्यक्तिले र अलग-अलग व्यक्तिलाई अधिकार दिएकोमा त्यस्ता अधिकार प्राप्त व्यक्तिहरूले संयुक्त रूपमा हस्ताक्षर गरी निवेदन दिनुपर्नेछ।

राजनीतिक दलले निवेदन दिँदा सम्बन्धित निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने गरी केन्द्रीय समितिले गरेको निर्णयको प्रतिलिपि संलग्न राख्नुपर्नेछ। उम्मेदवारको बन्द सूची पेस नगर्ने राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ दल दर्ता गर्न आवश्यक पर्ने छैन।