भारतमा रुसले इन्धनको अभाव हुन नदिने : राष्ट्रपति पुटिनको प्रतिबद्धता

काठमाडौँ, मंसिर १९ । भारत भ्रमणमा रहनुभएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तीव्र गतिमा बढिरहेको भारतीय अर्थतन्त्रका लागि रुस सधैं भरपर्दो र निर्बाध ऊर्जा आपूर्तिकर्ता रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले रुस भारतको ऊर्जा सुरक्षाको बलियो साझेदार रहने स्पष्ट पार्नुभयो ।

राष्ट्रपति पुटिनले भारतको विकासका लागि अत्यावश्यक तेल, ग्यास र कोइलाको आपूर्तिमा कुनै अवरोध आउन नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी भारतको द्रुत आर्थिक वृद्धिका लागि इन्धनको निर्बाध ढुवानी जारी राख्न तयार छौँ ।” परम्परागत इन्धनमा मात्र सीमित नभई रुसले भारतमा सबैभन्दा ठूलो आणविक ऊर्जा प्लान्ट निर्माण गरिरहेको उहाँले जानकारी दिनुभयो । साथै, साना ‘मोड्युलर रिएक्टर’ र तैरिने आणविक ऊर्जा प्लान्ट निर्माणमा सहकार्य गर्ने तथा चिकित्सा र कृषि क्षेत्रमा आणविक प्रविधिको प्रयोग बढाउने सम्भावना रहेको पनि उहाँले औंल्याउनुभयो ।

प्रधानमन्त्री मोदीको महत्त्वाकांक्षी योजना ‘मेक इन इन्डिया’ लाई सफल बनाउन रुसले भारतमै औद्योगिक उत्पादन थाल्ने पुटिनले घोषणा गर्नुभयो । उहाँले मेसिन निर्माण, डिजिटल प्रविधि, अन्तरिक्ष अन्वेषण र उच्च प्रविधिका क्षेत्रमा लगानी बढाउँदै भारतको घरेलु उत्पादन क्षमता विस्तारमा सघाउने बताउनुभयो ।

रणनीतिक र आर्थिक साझेदारीभन्दा माथि उठेर दुई देशबीच गहिरो सांस्कृतिक सम्बन्ध रहेको चर्चा गर्दै पुटिनले भन्नुभयो, “शताब्दीयौँदेखि भारतीय र रूसी जनताले एक-अर्काको परम्परा, इतिहास र आध्यात्मिक मूल्य मान्यतालाई सम्मान गर्दै आएका छन् ।” उहाँले शिक्षा र विज्ञानका क्षेत्रमा युवाहरू बिचको आदानप्रदानले सम्बन्धलाई थप बलियो बनाएको धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *