कूटनीतिक रस्साकस्सीपछि चेङ्ग्दूमा ‘सांस्कृतिक विश्राम’

काठमाडौँ, मंसिर १९ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेन युद्ध र व्यापार असन्तुलनजस्ता पेचिला मुद्दाहरूमा बेइजिङमा कडा वार्तापछि शुक्रबार आफ्नो चीन भ्रमणलाई सौहार्दपूर्ण शैलीमा समापन गर्नुभएको छ । आफ्नो चौथो राजकीय भ्रमणको अन्त्यमा उहाँ दक्षिण पश्चिमी सहर चेङ्ग्दू पुगी ‘पाण्डा र पिङ-पङ’ कूटनीतिमा रम्नुभयो ।

राष्ट्रपति म्याक्रोन र उहाँकी पत्नी ब्रिजिट म्याक्रोनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र उहाँकी पत्नीसँग बेइजिङको औपचारिक वातावरणभन्दा टाढा, चेङ्ग्दूमा भेटवार्ता गर्नुभयो । गत वर्ष म्याक्रोनले फ्रान्सको पाइरेनिसमा सीलाई स्वागत गरेको घटनाको प्रतिउत्तरका रूपमा यो भेटलाई लिइएको छ ।

दुई नेताले करिब ७२६ मिटर उचाइमा रहेको माउन्ट किङचेङ र त्यहाँको प्राचीन सिँचाइ प्रणालीको अवलोकन गर्नुभयो । म्याक्रोनले यस भ्रमणलाई दुई देश बिचको विश्वास र सद्भावको सङ्केतका रूपमा व्याख्या गर्नुभयो ।

राष्ट्रपति म्याक्रोनले चेङ्ग्दूमा विश्वविद्यालयका विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दा प्रथम महिला ब्रिजिट म्याक्रोनले विश्वप्रसिद्ध ‘चेङ्ग्दू जायन्ट पाण्डा ब्रिडिङ रिसर्च बेस’को भ्रमण गर्नुभयो । उहाँले सन् २०१७ मा फ्रान्समै जन्मिएको र आफू ‘गडमदर’ रहेको पाण्डा ‘युआन मेङ’ सँग पुनः भेट गर्नुभयो । फ्रान्सलाई ऋणमा दिइएका पाण्डाहरू हालै चीन फर्किएका थिए ।

यसैगरी, खेलकुद कूटनीतिलाई जोड्दै राष्ट्रपति म्याक्रोनले पेरिस २०२४ ओलम्पिकका स्टार टेबल टेनिस खेलाडी लेब्रुन दाजुभाइसँग पनि भेट गर्नुभयो । जो हाल चीनमा विश्वकप खेलिरहेका छन् ।

राजनीतिक सन्देश र आर्थिक साझेदारी
भ्रमणको अन्तिम दिन हल्काफुल्का देखिए पनि यसको पृष्ठभूमिमा गम्भीर विषयहरू रहेका थिए । म्याक्रोनले युक्रेनमा शान्ति स्थापनाका लागि चीनको प्रभावकारी भूमिकाको अपेक्षा गर्नुका साथै युरोप-चीन व्यापार घाटा कम गर्न आग्रह गर्नुभयो । यद्यपि, चीनले रूस-युक्रेन युद्धमा आफ्नो तटस्थता कायम राख्दै शान्ति वार्ताको मात्र आह्वान गरेको छ ।

आर्थिक मोर्चामा भने केही प्रगति देखिएको छ । बिहीबार दुवै पक्ष बिच लगानी विस्तार सम्बन्धी आशय पत्रमा हस्ताक्षर भयो । राष्ट्रपति सीले निष्पक्ष व्यापारिक वातावरण बनाउँदै फ्रान्सेली लगानीलाई स्वागत गर्न चीन तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *