युक्रेनी शान्तिको लागि आफ्नो योगदानका लागि भारत तत्परः प्रधानमन्त्री मोदी

 

नयाँ दिल्ली (भारत) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन सङ्कटको शान्तिपूर्ण समाधानका लागि भारत जस्तोसुकै योगदान गर्न पनि तयार रहेको बताउनुभएको छ । भारत भ्रमणमा रहेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्ता र संयुक्त पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री मोदीले युक्रेन मुद्दामा भारतको अडान ‘तटस्थ’ नभई ‘शान्तिको पक्ष’ मा रहेको प्रष्ट पार्नुभएको हो ।

रूसी राष्ट्रपति पुटिनसँगको द्विपक्षीय शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री मोदीले भन्नुभयो, “हालैका दिनहरूमा मैले विश्व समुदायका नेताहरूसँग युक्रेनबारे व्यापक छलफल गरेको छु । मैले सधैं भनेको छु कि भारत युद्धबारे तटस्थ छैन । भारतको स्पष्ट अडान छ र त्यो शान्तिको पक्षमा छ । हामी शान्तिका लागि हुने हरेक प्रयासको समर्थन गर्दछौँ र विश्व शान्तिमा फर्कनुपर्छ ।”

राष्ट्रपति पुटिनको भारत भ्रमणपछि जारी संयुक्त प्रेस वक्तव्यमा पनि मोदीले भारतले सुरुदेखि नै शान्तिको वकालत गर्दै आएको दोहोर्‍याउनुभयो । उहाँले भन्नुभयो, “हामी यस मामिलाको शान्तिपूर्ण र स्थायी समाधानको लागि गरिएका सबै प्रयासहरूको स्वागत गर्दछौँ । भारत आफ्नो योगदान दिन सधैँ तयार छ र भविष्यमा पनि रहनेछ ।”

आतङ्कवाद मानवतामाथिको आक्रमण
प्रधानमन्त्री मोदीले आतङ्कवादविरुद्धको लडाइँमा भारत र रुस लामो समयदेखि काँधमा काँध मिलाएर उभिएको स्मरण गर्नुभयो । पहलगाम र मस्कोको क्रोकस सिटी हलमा भएका आक्रमणको प्रसङ्ग कोट्याउँदै उहाँले यी घटनाको जड एउटै भएको बताउनुभयो ।

“भारतको अटल विश्वास छ कि आतङ्कवाद मानवताका मूल्यहरूमाथिको प्रत्यक्ष आक्रमण हो र यसको विरुद्ध विश्वव्यापी एकता नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो,” मोदीले भन्नुभयो । उहाँले दुई देशबीचको मित्रताले विश्वव्यापी चुनौतीहरूको सामना गर्न शक्ति प्रदान गर्ने र साझा भविष्यलाई समृद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो ।

आर्थिक सहयोग र व्यापार सम्झौता
भेटका क्रममा दुई नेताबीच सन् २०३० सम्मको ‘आर्थिक सहयोग कार्यक्रम’ बारे छलफल भएको छ । प्रधानमन्त्री मोदीका अनुसार ‘यूरेसियन इकोनोमिक युनियन’ सँग स्वतन्त्र व्यापार सम्झौतालाई छिटो निष्कर्षमा पुर्‍याउने दिशामा दुवै देशले काम गरिरहेका छन् । मोदीले भारत–रुस सम्बन्धलाई प्रगाढ बनाउन पुटिनको दूरदर्शी नेतृत्वको प्रशंसा गर्नुभयो ।

प्रधानमन्त्री मोदीको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका लागि रूसी राष्ट्रपति पुटिन चार वर्षपछि पहिलो पटक भारत आउनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *