स्वास्थ्य सेवा

सङ्खुवासभाको सभापोखरीमा ५ शय्याको अत्याधुनिक अस्पताल सञ्चालनमा

काठमाडौँ, मंसिर २० ।  सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा स्वास्थ्य सेवालाई सुलभ र प्रभावकारी बनाउने उद्देश्यले ५ शय्याको अत्याधुनिक आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको छ । करिब ६ करोड ९७ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त अस्पतालको आज औपचारिक उद्घाटन गरिएको हो ।

गाउँपालिका अध्यक्ष भीम सिङ्था लिम्बूका अनुसार नयाँ सञ्चालित अस्पतालबाट स्थानीयले शव परीक्षण (पोस्टमार्टम), प्रयोगशाला (ल्याब) र फार्मेसी लगायतका अत्यावश्यक सेवाहरू गाउँमै पाउनेछन् । उहाँले निकट भविष्यमै अस्पतालमा एक्स–रे र भिडियो एक्स–रे जस्ता आधुनिक प्रविधिमैत्री सेवाहरू पनि थप गरिने प्रतिबद्धता जनाउनुभयो ।

यसअघि सामान्य उपचारका लागि पनि टाढा धाउनुपर्ने स्थानीयको बाध्यता अब हट्ने विश्वास गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यले यसअघि पालिकाभर ७ वटा स्वास्थ्य चौकीमार्फत मात्र सेवा प्रवाह भइरहेकोमा यो नयाँ अस्पतालले स्थानीय स्वास्थ्य संरचनालाई थप मजबुत बनाएको बताउनुभयो ।

नवनिर्मित अस्पताल भवनको उद्घाटन जिल्ला समन्वय समिति सङ्खुवासभाका प्रमुख सुमन शाक्य र गाउँपालिका अध्यक्ष लिम्बूले संयुक्त रूपमा गर्नुभएको थियो ।