मध्य म्यानमारमा सेनाको हवाई आक्रमण : चिया पसलमा बम खस्दा १८ जनाको मृत्यु

काठमाडौँ, मंसिर २० । मध्य म्यानमारको सागाइङ क्षेत्रमा भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ। स्थानीय सरकारी अधिकारी र उद्धारकर्ताहरूले एएफपीलाई दिएको जानकारी अनुसार शुक्रबार साँझ भएको उक्त आक्रमणमा एक चिया पसललाई लक्षित गरिएको थियो।

सन् २०२१ मा सेनाले ‘कु’ मार्फत सत्ता कब्जा गरेपछि म्यानमार गृहयुद्धको चपेटामा छ। सेनाले विद्रोही नियन्त्रित क्षेत्रहरूमा बारम्बार हवाई हमला गर्दै आएको छ, जसको शिकार प्रायः निहत्था सर्वसाधारण हुने गरेका छन्।

एक स्थानीय प्रशासनिक अधिकारीका अनुसार सागाइङ क्षेत्रको तबाइन नगरमा सेनाले दुईवटा बम खसालेको थियो। जसमध्ये एउटा बम मानिसहरूको भीडभाड रहेको चिया पसलमा खसेको थियो । घटना विवरण सुनाउँदै ती अधिकारीले भने, “आक्रमणमा १८ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । चिया पसलमा मानिसहरूको बाक्लो उपस्थिति रहेकै बेला बम खसेकाले ठूलो मानवीय क्षति हुन पुग्यो ।” सुरक्षा संवेदनशीलताका कारण सूचना दिने सबै स्रोतले आफ्नो नाम गोप्य राखेका छन् ।

घटनास्थलमा १५ मिनेटभित्रै पुगेका एक उद्धारकर्ताले भने, “बम विस्फोटबाट ७ जनाको घटनास्थलमै मृत्यु भयो भने गम्भीर घाइते भएका अन्य ११ जनाको उपचारका क्रममा अस्पतालमा ज्यान गयो ।” म्यानमारमा चिया पसलहरूलाई सामाजिक भेटघाटको मुख्य थलो मानिन्छ। आक्रमणबाट उक्त पसल र नजिकैका करिब एक दर्जन घरहरूमा क्षति पुगेको छ ।

‘भाग्यले बाँचेँ’
हवाई आक्रमण हुँदा चिया पसलमा बसेर टेलिभिजनमा बक्सिङ खेल हेरिरहेका एक प्रत्यक्षदर्शीले आफू भाग्यले बाँचेको बताए । “मैले माथिबाट जहाज उडेको आवाज सुन्नेबित्तिकै भुइँमा लडेँ,” उनले भने, “विस्फोटको आवाज यति ठूलो थियो कि कान नै बहिरो बनायो । म कसरी बाँचे, मलाई नै थाहा छैन ।”

उनले थपे, “टाउको माथि ठूलो आगोको लप्को देखियो र लगत्तै विस्फोट भयो । होसमा आउँदा वरिपरि रगतै रगत र मानिसहरूको शव देखेँ। म भाग्यमानी रहेछु, बाँचेर घर फर्किएँ ।”

विगतका त्रासदीपूर्ण घटना
म्यानमारको जुन्टा सरकारका प्रवक्ताले यस घटनाबारे कुनै प्रतिक्रिया दिएका छैनन् । स्थानीय बासिन्दाहरूले शनिबार मृतकहरूको अन्त्येष्टि गरेका छन्। केही शवहरू क्षतविक्षत अवस्थामा थिए ।

एक स्थानीयले दुःख व्यक्त गर्दै भने, “युद्धविरामको कुरा गरिए पनि आक्रमण रोकिएको छैन । मृतकहरूमध्ये केहीलाई म राम्ररी चिन्थें, यो निकै पीडादायी छ ।” यसअघि गत मे महिनामा पनि सागाइङ क्षेत्रमै भएको यस्तै हवाई हमलामा २० बालबालिकासहित २२ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *