क्यानडाको श्रम बजारमा सुधारको सङ्केत

काठमाडौँ, मंसिर २० । क्यानडाको श्रम बजारमा नोभेम्बर महिनामा उत्साहजनक सुधार देखिएको छ । ‘स्टाटिस्टिक्स क्यानडा’ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एकै महिनामा कुल ५४ हजार व्यक्तिले नयाँ रोजगारी पाएका छन् । यो वृद्धि कुल रोजगारीको ०.३ प्रतिशत हो ।

तथ्याङ्क अनुसार देशको रोजगार दरमा ०.१ प्रतिशत बिन्दुले सुधार भई ६०.९ प्रतिशत पुगेको छ । अझ महत्वपूर्ण कुरा, बेरोजगारी दरमा ०.४ प्रतिशत बिन्दुको गिरावट आएर ६.५ प्रतिशतमा झरेको छ । यसले श्रम बजार बिस्तारै लयमा फर्कन थालेको सङ्केत गरेको छ ।

रोजगारीको अवसर विशेषगरी सेवामूलक र उत्पादनका क्षेत्रमा विस्तार भएको छ । स्वास्थ्य सेवा, सामाजिक सहयोग, आवास तथा खाद्य सेवा (हस्पिटालिटी) र प्राकृतिक स्रोतसाधनका क्षेत्रमा उल्लेख्य रोजगारी वृद्धि भएको छ । यद्यपि, थोक तथा खुद्रा व्यापार (होलसेल तथा रिटेल) क्षेत्रमा भने रोजगारीको सङ्ख्यामा गिरावट आएको प्रतिवेदनमा उल्लेख छ ।

रोजगारीको सङ्ख्या बढे पनि कामदारहरूमा रोजगार सुरक्षाको आत्मविश्वास भने विगतको तुलनामा केही घटेको पाइएको छ । नोभेम्बरमा ७३.६ प्रतिशत कर्मचारीले आफ्नो जागिर सुरक्षित महसुस गरेको बताएका छन् । तर, यो अनुपात सन् २०२३ को नोभेम्बर महिनाको तुलनामा ४.१ प्रतिशत बिन्दुले कम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *