भारतमा हवाई यात्राको अस्तव्यस्तता कम हुँदै, इन्डिगोका ३८५ उडान रद्द हुँदा सयौँ यात्रु अझै अलपत्र

 

नयाँ दिल्ली । भारतको सबैभन्दा ठूलो वायुसेवा कम्पनी ‘इन्डिगो’ मा देखिएको संकटको पाँचौँ दिन शनिबार पनि यात्रुहरूले सास्ती व्यहोर्नुपरेको छ। भारतीय विमानस्थलहरूमा यात्रुको भीड केही कम देखिए पनि इन्डिगोका ३८५ उडान रद्द हुँदा विशेषगरी बेङ्गलुरु र मुम्बई विमानस्थल बाहिर सयौँ यात्रुहरू अलपत्र परेका छन्।

पाइलटहरूको रात्रिकालीन उडान र साप्ताहिक आरामसम्बन्धी नयाँ र कडा नियमहरू पालना गर्न नोभेम्बर १ को समयसीमा अगाडि उचित योजना बनाउन नसक्दा यो संकट निम्तिएको इन्डिगोले स्वीकार गरेको छ। पाइलटहरूको ‘रोस्टर’ व्यवस्थापनमा भएको कमजोरीका कारण यो साता हजारौँ उडान रद्द भएका छन्, जसले सिङ्गो भारतीय हवाई क्षेत्रलाई नै अस्तव्यस्त बनाएको छ। सरकारले यात्रुहरूको चाप घटाउन विशेष रेल सेवा सञ्चालन र कम्पनीलाई केही राहतको घोषणा समेत गरेको छ।

समाचार संस्था रोयटर्सका अनुसार शनिबार मात्रै बेङ्गलुरुमा १२४, मुम्बईमा १०९, नयाँ दिल्लीमा ८६ र हैदरावादमा ६६ वटा इन्डिगोका उडान रद्द गरिएका छन्। यसअघि शुक्रबार १ हजारभन्दा बढी उडान रद्द भएका थिए।

विमानस्थल पुगेका कतिपय यात्रुलाई आफ्नो उडान रद्द भएको बारे जानकारी नै थिएन। मुम्बईबाट नागपुर जान लागेका सतिश कोन्डेले चेक-इन गरिसकेपछि मात्र उडान रद्द भएको थाहा पाए। ‘म अहिले आफ्नो लगेज फिर्ता पाउन कुरिरहेको छु,’ उनले भने।

भारत सरकारले वायुसेवा कम्पनीलाई राहत दिन नियमहरूमा केही लचकता अपनाएको छ भने इन्डिगोले डिसेम्बर १० देखि १५ सम्ममा सेवा सामान्य अवस्थामा फर्कने जनाएको छ।

सस्तो भाडा र समयपालनाका लागि चिनिने २० वर्षे इतिहास बोकेको इन्डिगोका लागि यो अहिलेसम्मकै ठूलो संकट हो। यद्यपि, नयाँ नियमका कारण एयर इन्डिया र आकासाजस्ता अन्य प्रमुख भारतीय वायुसेवा कम्पनीहरूले भने उडान रद्द गर्नुपरेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *