ऊर्जा र उच्च प्रविधिको विस्तारले चिनियाँ अर्थतन्त्रमा नयाँ गति : वृद्धि दरको प्रक्षेपण ५ प्रतिशत पुर्‍याइयो

काठमाडौँ, मंसिर २१ । सन् २०२५ को अन्त्यतिर आइपुग्दा चीनको अर्थतन्त्रले पुनः बलियो लय समातेको छ । भू-राजनीतिक तनाव र विश्वव्यापी व्यापारिक चुनौतीका बाबजुद चीनले अपनाएको नीतिगत सक्रियता, औद्योगिक रूपान्तरण र मजबुत आर्थिक आधारले विश्व बजारमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।

प्रमुख अन्तर्राष्ट्रिय वित्तीय संस्था ‘गोल्डम्यान स्याक्स’ले हालै सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२५ का लागि चीनको कुल ग्राहस्थ उत्पादन (जिडिपी) वृद्धिदरको अनुमानलाई संशोधन गर्दै ४.९ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्‍याएको छ । प्रतिवेदनका अनुसार आगामी वर्षहरूमा चीनको वास्तविक निर्यात वृद्धि ५ देखि ६ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरिएको छ। परम्परागत उद्योगको स्तरोन्नति तथा नयाँ ऊर्जा र उच्च प्रविधिमा आधारित उद्योगको तीव्र विकासले चीनको प्रतिस्पर्धात्मक क्षमता बढेको गोल्डम्यान स्याक्सको निष्कर्ष छ ।

त्यस्तै, आर्थिक सहयोग तथा विकास सङ्गठन (ओईसीडी) ले पनि चीनको आर्थिक वृद्धि ५ प्रतिशत रहने नयाँ पूर्वानुमान सार्वजनिक गरेको छ । ओईसीडीले चीनलाई विश्व आर्थिक स्थिरताको एक प्रमुख आधार मान्दै आय वृद्धि, उपभोग विस्तार तथा सवारीसाधन र घरायसी सामान साटासाट कार्यक्रमले चीनको आन्तरिक मागलाई उल्लेख्य रूपमा बढाएको जनाएको छ ।

डोइचे बैङ्क र मर्गन स्ट्यान्लीजस्ता प्रतिष्ठित वित्तीय संस्थाहरूले पनि चीनको आर्थिक नीतिलाई प्रभावकारी र सन्तुलित भएको बताएका छन् । डोइचे बैङ्कको विश्लेषण अनुसार, चीनले ल्याएको ५०० अर्ब युआन बराबरको नयाँ वित्तीय प्याकेजले सन् २०२५ को अन्तिम त्रैमासिक र सन् २०२६ को सुरुवाती चरणमा घरेलु मागलाई थप प्रोत्साहन गर्नेछ ।

चिनियाँ विश्लेषकहरूले देशको विशाल बजार, सुव्यवस्थित आपूर्ति शृङ्खला र प्रविधिमा आधारित व्यापार संरचनालाई भविष्यको आर्थिक वृद्धिको मुख्य इन्जिनका रूपमा व्याख्या गरेका छन्। उच्च गुणस्तरीय विकास र आर्थिक पुनरुत्थानको क्षमताका कारण चीनले विश्व अर्थतन्त्रमा स्थिरता र वृद्धिका लागि आफ्नो नेतृत्वदायी भूमिका कायमै राख्ने उनीहरूको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *