अत्यधिक चिसो र भोकका कारण मृत्यु

ग्रीसको तटीय क्षेत्रमा १८ आप्रवासी मृत फेला : चिसो र भोकका कारण मृत्यु भएको अनुमान

काठमाडौँ, मंसिर २१ । ग्रीसको दक्षिणी तटीय क्षेत्र नजिकै रहेको क्रेट टापु आसपास एउटा डुङ्गामा १८ जना आप्रवासी मृत अवस्थामा फेला परेका छन् । सोही डुङ्गाबाट दुई जनालाई जीवितै उद्धार गरिएको छ । ग्रीसको सरकारी सञ्चारमाध्यम ईआरटीका अनुसार उक्त डुङ्गा इरापेट्रा सहरभन्दा करिब ४८ किलोमिटर दक्षिणमा भेटिएको थियो। मृतक १८ जनाको शव डुङ्गाभित्रै फेला परेको हो ।

प्रारम्भिक जानकारी अनुसार, प्रतिकूल मौसमका कारण लामो समयसम्म समुद्रमा फस्दा अत्यधिक चिसो र खानाको अभाव (भोक) का कारण उनीहरूको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

जीवितै उद्धार गरिएका दुई व्यक्तिले अधिकारीहरूलाई दिएको बयान अनुसार, खराब मौसमका कारण उनीहरूले घण्टौँसम्म सुरक्षित स्थानको खोजीमा सङ्घर्ष गर्नुपरेको थियो । ग्रीसको तटरक्षक बलले डुङ्गा फेला पर्नुभन्दा कम्तीमा एक दिनअघि नै उनीहरूको मृत्यु भइसकेको हुनसक्ने बताएको छ ।

घटनाका सम्बन्धमा ग्रीसका अधिकारीहरूले विस्तृत अनुसन्धान सुरु गरेका छन् ।