काठमाडौँ, मंसिर २१ । सुडानको दक्षिण कोर्डोफान राज्यस्थित कालोगी शहरमा भएको शृङ्खलाबद्ध ड्रोन आक्रमणमा ४३ बालबालिकासहित ७९ जनाको मृत्यु भएको छ। सरकारी सेनाको नियन्त्रणमा रहेको क्षेत्रमा विद्यालय र अस्पताललाई निशाना बनाई सो आक्रमण गरिएको हो ।कालोगी प्रशासनिक एकाइका प्रमुख एस्साम अल-दिन अल-सैय्येदका अनुसार, गत बिहीबार तीन चरणमा आक्रमण गरिएको थियो । उहाँले भन्नुभयो, “पहिलो आक्रमण बालबालिकाको किन्डरगार्टेन (शिशु कक्षा) मा भयो, दोस्रो आक्रमण अस्पतालमा गरियो र तेस्रो पटक घाइते बालबालिकाको उद्धारमा खटिएका मानिसहरूलाई लक्षित गरी प्रहार भयो ।”

सुडानको रक्षा मन्त्रालयले घटनामा ४3 बालबालिकासहित कुल ७९ जनाको मृत्यु भएको पुष्टि गरेको छ। संयुक्त राष्ट्र सङ्घीय बालबालिका कोष (युनिसेफ) ले मृतकहरूमा पाँचदेखि सात वर्ष उमेर समूहका बालबालिका रहेको जनाएको छ । बालअधिकारवादीहरूले विद्यालय र अस्पतालजस्ता संवेदनशील क्षेत्रमा आक्रमण गरी बालबालिकाको हत्या गर्नु बालअधिकारको जघन्य उल्लङ्घन भएको भन्दै घटनाको भर्त्सना गरेका छन् । उनीहरूले तत्काल आक्रमण रोक्न र मानवीय सहायताको सुनिश्चितता गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

सन् २०२३ को अप्रिलदेखि जारी गृहयुद्धका कारण सुडानमा हजारौँको मृत्यु भइसकेको छ भने करिब १२ लाख मानिस विस्थापित भएका छन् ।  गत महिना मात्रै यस क्षेत्रबाट ४० हजारभन्दा बढी मानिस विस्थापित भएको तथ्याङ्क छ ।

विश्लेषकहरूका अनुसार विद्रोही पक्षले मध्य सुडानमा सेनाको अन्तिम सुरक्षा घेरा तोड्दै राजधानी खार्तुमसहित प्रमुख शहरहरू पुनः कब्जा गर्ने रणनीति अनुरुप आक्रमण तीव्र पारेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *