मालढुङ्गा–बेनी सडक स्तरोन्नतिपछि यात्राअवधि छोटियो, आवतजावतमा सहज

म्याग्दी, २२ मङ्सिर । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज भएको छ र यात्राअवधि पनि छोटिएको छ। चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडक योजनामार्फत मालढुङ्गा–बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट प्रविधिको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ।

करिब १३ किलोमिटर दुरीको सडकमध्ये करिब दुई किलोमिटर बाहेकका ठाउँमा कालोपत्र र ढलान सकिएको सडक योजना कार्यालयले जनाएको छ। यातायात व्यवसायी रेशबहादुर विश्वकर्माले यसअघि एक घण्टा लाग्ने यात्रा अहिले २० देखि २५ मिनेटमा छोटिएको बताउनुभयो। उहाँका अनुसार, पोखरा–बेनी आवतजावत गर्न घुमाउरो वैकल्पिक सडक प्रयोग गर्नुपर्ने समस्या पनि हटेको छ। जलजला गाउँपालिका–७ मिलनचोकका बासिन्दा बाबुराम कार्कीले सडक कालोपत्र भएपछि धुलो र हिलोको कष्टपूर्ण यात्राबाट मुक्ति मिलेको बताउनुभयो।

यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीहरू आवतजावत गर्छन्। ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको यो सडक २०६८ मा एकतर्फी कालोपत्र भएको थियो। मुस्ताङ र कोरला नाका सडक सञ्जालमा जोडिएपछि यातायातका साधनको चाप बढ्दा साँघुरो सडक पछिल्लो समय जीर्ण बनेको थियो।

पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिकाका वडा हुँदै म्याग्दी सदरमुकाम बेनी जोड्ने सडक दुई लेनको बनाएर कालोपत्र गर्न २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो। २०७९ मा सम्पन्न गर्ने लक्ष्य रहे पनि कोरोना महामारी, बाढीपहिरो र निर्माण सामग्रीको अभावका कारण योजना अलपत्र परेको थियो। एक वर्षअघि मुख्य ठेकेदार कार्यक्षेत्रमा आएपछि कामले गति लिएको थियो।

गत वर्ष मालढुङ्गा–फर्से खण्डमा कालोपत्र र ढलान भएको थियो। लस्ती–बेनी खण्डको साढे छ किलोमिटर सडक यसै मङ्सिर पहिलो सातादेखि कालोपत्र गर्न थालिएको थियो। लस्ती, केराबारी, लामाखेत खण्डमा कालोपत्र सकिएको छ। मङ्सिर १ देखि २० गतेसम्म बिहान १० देखि साँझ ५ बजेसम्म सडक बन्द गरेर कालोपत्रको काम सहज बनाइएको थियो। लस्ती–फर्से र मिलनचोक बजारभित्र करिब एक किलोमिटर दुई सय मिटर कालोपत्रका लागि संरचना निर्माण अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका इन्जिनियर जीवन चौधरीले बताउनुभयो।

वारीबेनीको सात सय ६० मिटर, केराबारी र फर्से पहिरोमा एक/एक सय मिटर सडकलाई ठेक्काबाट हटाइएको छ। वारीबेनीमा बस्तीको बीचमा सडक विस्तार गर्न घरधनीहरूको असहमति तथा फर्से र केराबारीमा पहिरोका कारण ठेक्काबाट हटाउनुपरेको बेनी–जोमसोम–कोरला सडक योजनाका सूचना अधिकारी विष्णु चापागाईंले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *