जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको खतरा बढेपछि चेतावनी जारी

 

टोकियो, (एजेन्सी) ।  जापानको उत्तरपूर्वी क्षेत्रमा सोमबार राति शक्तिशाली भूकम्प गएको छ। भूकम्पको तीव्रतासँगै तटीय क्षेत्रमा सुनामीको उच्च जोखिम रहेको भन्दै सरकारी अधिकारीहरूले चेतावनी जारी गरेका छन्।

जापानी मौसम विज्ञान निकाय (जेएमए) का अनुसार स्थानीय समयअनुसार सोमबार राति ११ बजेर १५ मिनेट जाँदा ७.६ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो। जेएमएले भूकम्पको केन्द्रविन्दु ४१.० डिग्री उत्तरी अक्षांश र १४२.३ डिग्री पूर्वी देशान्तरमा रहेको जानकारी दिएको छ।

सुनामीको चेतावनी र जोखिम क्षेत्र
शक्तिशाली कम्पन लगत्तै जेएमएले विशेषगरी होक्काइदो, आओमोरी र इवाते प्रान्तका तटीय क्षेत्रहरूमा सुनामीको गम्भीर चेतावनी जारी गरेको छ। मौसम विज्ञान निकायले ती क्षेत्रमा ३ मिटरसम्म अग्ला विनाशकारी छालहरू आउन सक्ने पूर्वानुमान गरेको छ।

यसका साथै, मियागी र फुकुशिमा प्रान्तहरूमा पनि सुनामीको प्रभाव पर्न सक्ने भन्दै सावधानीको सूचना जारी गरिएको छ। फुकुशिमा सन् २०११ को भूकम्प र सुनामीबाट अत्यधिक प्रभावित क्षेत्र भएकाले त्यहाँ विशेष चासोका साथ हेरिएको छ।

नागरिकलाई सचेत रहन आग्रह
भूकम्प र सम्भावित सुनामीको खतरालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। जोखिमयुक्त क्षेत्रका नागरिकहरूलाई समुद्रको किनारबाट टाढा रहन र आवश्यकता अनुसार सुरक्षित एवं उच्च स्थानतर्फ जान आग्रह गरिएको छ।

अहिले प्रभावित क्षेत्रमा आपतकालीन सूचना प्रणालीमार्फत निरन्तर जानकारी गराइएको छ भने क्षतिको थप विवरण आउन बाँकी छ।