जापानको शक्तिशाली भूकम्पमा ३० जना घाइते : ९० हजारलाई सुरक्षित स्थानमा जान निर्देशन
काठमाडौँ, मंसिर २३ । जापानको उत्तर-पूर्वी क्षेत्रमा सोमबार राति ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण हालसम्म कम्तीमा ३० जना घाइते भएको पुष्टि भएको छ । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार, भूकम्प स्थानीय समयअनुसार सोमबार राति ११:१५ बजे गएको हो । भूकम्पको केन्द्रविन्दु आओमोरी क्षेत्रको तटभन्दा करिब ८० किलोमिटर टाढा र जमिनमुनि ५० किलोमिटर गहिराइमा रहेको थियो ।
भूकम्पलगत्तै जारी गरिएको सुनामीको चेतावनी हाल हटाइएको छ । यद्यपि, तटीय क्षेत्रहरूमा २७ इन्चसम्मका समुद्री छालहरू देखिएको जनाइएको छ। भूकम्पको धक्कापछि ९० हजारभन्दा बढी मानिसलाई घर छोडेर सुरक्षित स्थानमा जान निर्देशन दिइएको रोयटर्सले उल्लेख गरेको छ ।
भौतिक पूर्वाधारमा पनि क्षति पुगेको छ । हजारौँ घरमा विद्युत् आपूर्ति बन्द भएको छ भने केही रेल सेवाहरू अवरुद्ध भएका छन् ।
जापानका सरकारी अधिकारीहरूले आगामी दिनमा समेत भूकम्पको धक्का महसुस हुन सक्ने भन्दै नागरिकहरूलाई कम्तीमा एक हप्तासम्म ‘हाई अलर्ट’ (उच्च सतर्कता) मा रहन सुझाव दिएका छन् ।
जापानकी प्रधानमन्त्री सानाई ताकाइचीले नागरिकहरूलाई सचेत गराउँदै भन्नुभएको छ, ‘कृपया आफ्नो सुरक्षा तयारी पुनः जाँच गर्नुहोस् र कम्पन महसुस हुनासाथ तत्काल बाहिर निस्कन तयार रहनुहोस् ।’
