मुस्ताङको कान्छो गाउँ साङ्ता: विकास र कठिनाइको दोसाँधमा, हिउँदमा अस्थायी स्थानान्तरणको परम्परा

मुस्ताङ, २३ मङ्सिर । मुस्ताङ–डोल्पा सडकको सिमाना नजिकै अवस्थित साङ्ता, विसं २०२२ मा पहिचान भएको मुस्ताङ जिल्लाको सबैभन्दा कान्छो गाउँ हो। कठिन भूगोलमा रहेको यो गाउँमा करिब १३ घरधुरीको बसोबास छ।

साङ्ता गाउँ अहिलेको स्थान्तरित बस्ती हो। यो बस्ती पहिले खोलापारीको भिरालो स्थानमा अवस्थित थियो, जहाँ स्थानीयले खेतपाती र पशुपालन गरी जीविकोपार्जन गर्थे। सिँचाइको अभाव भएपछि साङ्ताका बासिन्दाहरूले उक्त स्थान छोडेर हालको स्थानमा स्थानान्तरण भएका थिए। यहाँ बस्ती बसेको पाँच दशक बढी भइसकेको छ, तर पनि पुरानो बस्तीका भग्नावशेष घर र खेतका अवशेषहरू अझै देख्न सकिन्छ।

जोमसोमदेखि करिब ४० किलोमिटरको दुरीमा पर्ने साङ्ता गाउँलाई सङ्घीयतापछि मुस्ताङ–डोल्पा सडक विस्तार हुँदा कच्ची सडक सञ्जालले छोएको छ। समुन्द्री सतहको चार हजार मिटर अग्लो उचाइमा विस्तार गरिएको यो सडक अझै थप स्तरोन्नति गर्नुपर्ने आवश्यकता छ। सडक सञ्जालले छोएपछि साङ्ताका नागरिकहरूले पछिल्लो समय राज्यबाट उपलब्ध हुने केही सेवासुविधाहरू सहज रूपमा पाउन थालेका छन्। अग्ला पहाडले घेरिएको साङ्ता गाउँको सडक तल भिरालो खोचमा अवस्थित छ।

अभाव र अशिक्षाको भूमरीमा जकडिएको यस गाउँमा अचेल राज्यको उपस्थिति देखिन थालेपछि स्थानीयले केही राहतको महसुस गर्न थालेका छन्। माथिल्लो डोल्पाका बासिन्दाहरू किनमेलका लागि जोमसोम आउजाउ गर्ने बाटो साङ्ता गाउँ नै हो। कहिलेकाहीँ फाट्टफुट्ट विदेशी पर्यटकहरू साङ्ता गाउँ हुँदै पदयात्रा गर्छन्। सरकारले यहाँको साङ्ता गाउँलाई निषेधित तथा नियन्त्रित क्षेत्रको सूचीमा राखेको छ।

साङ्ता गाउँमा गएको सङ्घीय तथा प्रादेशिक निर्वाचनमा १३ घरधुरीका ३४ जना मतदाता थिए। गाउँमा रहेको एक आधारभूत विद्यालय अहिले बन्द अवस्थामा छ, किनभने गाउँका बालबालिका विभिन्न सङ्घसंस्थाहरूको सहयोगमा अन्यत्रका विद्यालयमा पढ्ने भएकाले यहाँको विद्यालय बन्द हुन पुगेको हो। गाउँमा स्वास्थ्य संस्था नहुँदा गम्भीर बिरामी पर्दा स्थानीयलाई निकै समस्या हुने गर्छ। गाउँमा वैकल्पिक सौर्य ऊर्जा र नेपाल टेलिकमको बिटीएस टावर जडान भएपछि बिजुली र टेलिफोनको तत्कालको समस्या टरेको छ।

यहाँको स्थान्तरित साङ्ता गाउँको वार्षिक दिनचर्या अरू गाउँको भन्दा फरक छ। वर्खायाममा सात महिना गाउँमै बसेर खेतीपाती र पशुपालन गर्ने साङ्ताका नागरिकहरू हिउँदयामको चार/पाँच महिना भने गाउँ पारीको ‘घोक’ भन्ने पाखामा गएर कटाउँथे, जहाँ हिउँदमा न्यानो हुने गर्दथ्यो। त्यहाँ उनीहरूको अस्थायी टहरा र खेती गर्ने लालपुर्जावाला जग्गा थियो। वर्षौंदेखि हिउँदयाममा जाडो छल्न त्यहाँ जाने गरेका साङ्ता गाउँका नागरिकहरू विगत सात वर्षदेखि भने उक्त स्थान छोडेर वारागुङ–५ कै पाक्लिङ, फल्याक र धाकार्रजुङलगायत गाउँहरूमा बस्न थालेका छन्। वर्खायाममा साङ्ता गाउँमा बस्ने र हिउँदयामको जाडोमा पाँच महिना फल्याक, धाकार्रजुङ र पाक्लिङलगायत गाउँमा बस्न थालेको सोही गाउँका वडासदस्य छिरिङ पाल्साङ गुरुङले बताउनुभयो।

अहिले मुस्ताङ–डोल्पा सडकको साङ्ता गाउँ जाने बाटोमा बाक्लो हिउँ जमेका कारण गाडी र ट्र्याक्टर जान सक्ने अवस्था छैन। गत कात्तिक १० गते हिमपात हुँदा सडक पूरै हिउँले अवरुद्ध बनेको छ। हिउँदयाममा जाडो छल्न घोक पाखामा जाँदा समस्या र चुनौती हुने भएकाले हिउँदे बासस्थान फेरिएको वडा सदस्य छिरिङ पाल्साङ गुरुङले जानकारी दिनुभयो। यसपालि हिउँ र चिसो बढेकाले मङ्सिर अगावै गाउँ छोडेर जाडो छल्न फल्याक, पाक्लिङ र धाकार्रजुङ गाउँमा झरेको बताउनुभयो। “गाउँको बाटोमा पूरै हिउँ छ, गाडी चल्दैन, आवतजावत गर्न निकै ठूलो समस्या छ,” वडा सदस्य गुरुङले भन्नुभयो, “साङ्ता गाउँमा बस्दा बिरामी परियो भने त उपचार पाउन गाह्रो हुन्छ, हेलिकप्टर चार्टर गरेर उपचार गर्ने हाम्रो सामर्थ्यले भ्याउँदैन।”

जोमसोम नजिकैको गाउँमा आफन्तको घरमा काम गरेर हिउँदयामका उराठिला दिनहरू कटाउने गरेको वडा सदस्य गुरुङले उल्लेख गर्नुभयो। “यता त केही न्यानो हुन्छ, खानेकुरा सस्तो हुन्छ,” उहाँले भन्नुभयो, “बिरामी परेमा उपचार गर्न सजिलो छ, यसैले विगत छ/सात वर्षदेखि हामी घोक पाखामा बस्न छोडेर यतै बस्ने गरेका छौँ।” उहाँले हिउँद सकिएर गर्मी सुरु भएपछि मात्रै साविककै स्थानमा फर्किने जानकारी दिनुभयो। उहाँका अनुसार अहिले साङ्ता गाउँका १३ घरधुरीमध्ये तीन घरधुरी पाक्लिङ गाउँमा, ४ घरधुरी फल्याक गाउँमा र ७ घरधुरी धाकार्रजुङ गाउँमा आफन्तको घरमा बसेका छन्।

साङ्ता गाउँको पारी घोक पाखामा अहिले पशु गोठालाहरू मात्रै बस्ने गरेको साङ्ता गाउँका गाउँ मुखिया थुक्तेन गुरुङले बताउनुभयो। साङ्तामा ४ घरधुरीले च्याङ्ग्रा पालेको र दुई घरधुरीले संयुक्त रूपमा याक पालन गरेका छन्। अहिले साङ्ता गाउँका स्थानीयले गोठालालाई पशुचौपायाको रेखदेखको जिम्मा लगाएर सबै महिला, पुरुष र बालबालिका जोमसोम नजिकका गाउँहरूमा झरेको मुखिया गुरुङले बताउनुभयो।