नेकपा स्थापना दिवसः अध्यक्ष ओलीले आज सम्बोधन गर्ने
काठमाडौँ, ९ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आज आयोजना हुने विशेष कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार, ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा दिउँसो २ बजे स्थापना दिवसको कार्यक्रम आयोजना हुँदैछ। अध्यक्ष ओलीले उक्त कार्यक्रममार्फत समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाका विषयमा आफ्नो धारणा राख्ने एमाले नेताहरूले बताएका छन्।
पित्तथैलीको पत्थरीको शल्यक्रियापछि पूर्ण रूपमा निको नभइसकेको भए पनि पार्टी स्थापना दिवसको महत्त्वपूर्ण अवसर भएकाले उनले नेता–कार्यकर्तालाई सम्बोधन गर्न लागेका हुन्। सरकारबाट गत चैत १४ गते पक्राउ परी २६ गते रिहा भएका ओलीले त्यसलगत्तै शल्यक्रिया गराएका थिए। उनी वैशाख ५ गते अस्पतालबाट घर फर्किएर हाल स्वास्थ्यलाभ गरिरहेका छन्।
कार्यक्रममा सहभागी हुन काठमाडौँ उपत्यकामा रहेका पार्टीका केन्द्रीय सदस्य, जनवर्गीय सङ्गठनका पदाधिकारी तथा शुभेच्छुकहरूलाई पार्टीले आग्रह गरेको छ।
नेपालमा २००६ साल वैशाख ९ गते पुष्पलाल श्रेष्ठको नेतृत्वमा पहिलो पटक नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। सोही ऐतिहासिक दिनको स्मरण गर्दै कम्युनिस्ट पार्टीहरूले आजको दिनलाई स्थापना दिवसका रूपमा मनाउँदै आएका छन्।