नेदरल्यान्ड्सबाट चोरी भएको २५०० वर्ष पुरानो सुनौलो हेलमेट १४ महिनापछि रोमानिया फिर्ता

एजेन्सी, ९ बैशाख । नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट १४ महिनाअघि चोरी भएको २ हजार ५ सय वर्ष पुरानो बहुमूल्य सुनौलो हेलमेटसहितका ऐतिहासिक वस्तुहरू रोमानिया फिर्ता ल्याइएको छ। लामो अनुसन्धान, कूटनीतिक प्रयास र कानुनी प्रक्रियापछि स्वदेश फर्काइएको यो खजानालाई रोमानियाले आफ्नो राष्ट्रिय पहिचान र ऐतिहासिक स्मृतिको प्रतीक मानेको छ।

डेसिया सभ्यतासँग सम्बन्धित ‘कोटोफेनेस्टी हेलमेट’ र तीनवटा सुनका ब्रेसलेट नेदरल्यान्ड्सस्थित ड्रेन्ट्स सङ्ग्रहालयबाट योजनाबद्ध रूपमा चोरी भएका थिए। उक्त घटनामा संलग्न तीन जना संदिग्धमाथि अनुसन्धान भइरहेकै बेला बरामद गरिएका अधिकांश वस्तुहरू कडा सुरक्षाका बीच मङ्गलबार बुखारेस्टस्थित हेनरी कोन्डा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।

स्वदेश फर्काइएका यी सम्पदालाई हाल मास्क लगाएका सशस्त्र सुरक्षाकर्मीको कडा निगरानीमा रोमानियाको राष्ट्रिय इतिहास सङ्ग्रहालयको विशेष सिसाको क्याबिनेटमा राखिएको छ। यद्यपि, चोरी भएका तीनमध्ये एउटा सुनको ब्रेसलेट अझै फेला परेको छैन र त्यसको खोजी कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन्।

सङ्ग्रहालयका अनुसार, चोरी र ओसारपसारका क्रममा हेलमेटको केही भागमा सामान्य क्षति पुगेको छ तर बरामद भएका ब्रेसलेटहरू भने सुरक्षित अवस्थामा छन्। बहुमूल्य भए पनि विशिष्टताका कारण कालोबजारमा बेच्न कठिन हुने भएकाले चोरहरूले यसलाई पगाल्न सक्ने आशङ्का गरिएको थियो। तर, त्यसो नभएकोमा अधिकारीहरूले राहत महसुस गरेका छन्।

रोमानियाली सङ्ग्रहालयका अन्तरिम निर्देशक कर्नेल कन्स्टान्टिन इली र ड्रेन्ट्स सङ्ग्रहालयका निर्देशक रोबर्ट भ्यान ल्याङ दुवैले यी सम्पदा फर्किनु निकै सुखद र भावनात्मक क्षण भएको बताएका छन्। त्यस्तै, रोमानियाका संस्कृतिमन्त्री डिमेटर अन्द्रास इस्तवानले यस घटनाले सांस्कृतिक सम्पदाहरू कति संवेदनशील र जोखिममा छन् भन्ने पाठ सिकाएको उल्लेख गरे।

यसअघि सार्वजनिक भएको सिसिटिभी फुटेजअनुसार तीन जना व्यक्तिले फलामको रडले सङ्ग्रहालयको ढोका फुटाएर र विस्फोट गराएर ती सामग्री चोरेका थिए।

सङ्ग्रहालय प्रशासनका अनुसार, सामान्य मर्मतसम्भारपछि यी वस्तुहरूलाई पुनः सर्वसाधारणको अवलोकनका लागि खुला गरिनेछ। सधैँका लागि हराएको ठानिएका यी अमूल्य सम्पदा स्वदेश फर्किनुलाई रोमानियाले ऐतिहासिक उपलब्धिको रूपमा लिएको छ।