नेपालमा अब १४ वटा ८ हजार मिटर अग्ला हिमाल? पर्यटन विभागद्वारा ६ नयाँ चुचुरोलाई मान्यता

काठमाडौँ, २३ मङ्सिर । विश्वका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये परम्परागत रूपमा ८ वटा नेपालमा रहेको मानिँदै आएकोमा, पछिल्ला वर्षहरूमा नेपालले थप ६ वटा नयाँ चुचुरोलाई ८ हजार मिटरमाथिका हिमालको रूपमा पहिचान गरी आधिकारिक सूचीमा समावेश गरेको छ।

पर्यटन विभागले करिब १० महिनाअघि यी नयाँ हिमाललाई आफ्नो ‘पिक-प्रोफाइल’मा थप्दै आधिकारिक मान्यता दिइसकेको हो।

परम्परागत रूपमा नेपालमा रहेका ८ हजार मिटरमाथिका हिमालहरूमा सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, चो–यु, धौलागिरि, मनास्लु र अन्नपुर्ण पर्छन्। बाँकी ६ वटा हिमाल पाकिस्तान र चीनको तिब्बत क्षेत्रमा पर्छन्।
नेपालले पहिचान गरेका नयाँ ६ हिमाल:
ल्होत्से शृंखला (खुम्बु क्षेत्र):
ल्होत्से सार (८,४०० मिटर)
ल्होत्से सेन्टर (८,४१० मिटर)
कञ्चनजंघा क्षेत्र (ताप्लेजुङ):
कञ्चनजंघा सेन्टर (८,४७३ मिटर)
कञ्चनजंघा साउथ (८,४७६ मिटर)
यालुङखाङ (८,५०५ मिटर)
यालुङखाङ वेस्ट (८,०७७ मिटर)

यी सबै चुचुरा ८ हजार मिटरभन्दा माथि उचाइ भएका कारण नेपालले अब कुल १४ वटा ८ हजार मिटर अग्ला हिमाल भएको देश भएको दाबी गर्दै आएको छ। यद्यपि, यी हिमालहरूलाई सहायक शिखरका रूपमा वर्गीकृत गरिएको छ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नका लागि पहिले नेपाल सरकारले यी हिमाललाई पूर्ण रूपमा मान्यता दिनुपर्ने र त्यसपछि मात्र अन्तर्राष्ट्रिय पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) ले स्वीकृति दिने उहाँको भनाइ छ। यूआईएएले मान्यता दिएपछि मात्रै नेपाल १४ वटा ८ हजार मिटर अग्ला हिमाल भएको देशको रूपमा विश्वमै औपचारिक रूपमा चिनिनेछ।

विश्वका ७३ देशका ९४ अल्पाइन तथा पर्वतारोहण संस्थाहरूको मान्यताप्राप्त महासंघ यूआईएएले सन् २०२६ अक्टोबर २५–२६ मा नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दै छ। यस सम्मेलनलाई अवसर बनाएर नेपालले पहिचान गरिएका ६ नयाँ ८ हजार मिटर अग्ला हिमाललाई अन्तर्राष्ट्रिय स्तरमा आधिकारिक मान्यता दिलाउनुपर्ने नेपालका पर्वतीय पर्यटन व्यवसायीहरूको भनाइ रहेको छ।

संघ र व्यवसायीहरूका अनुसार यी हिमालको मान्यता प्राप्त भएपछि नेपालमा आरोहण पर्यटनमा नयाँ अवसर खुल्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *