कांग्रेसबाट ७७ वटै जिल्ला सभापतिहरूको बैठक आह्वान
काठमाडौँ, मंसिर २३ । नेपाली कांग्रेसले आसन्न महाधिवेशनको पूर्वसन्ध्यामा ७७ वटै जिल्लाका सभापतिहरूको बैठक बोलाएको छ । पार्टीको क्रियाशील सदस्यता केन्द्रीय व्यवस्थापन समितिले बुधबार बिहान ८ बजे बस्नेगरी भर्चुअल माध्यमबाट उक्त बैठक डाकेको हो । आगामी पुस २६ देखि २८ गतेसम्मका लागि तय गरिएको महाधिवेशनको तयारीलाई तीव्रता दिन यो बैठक आयोजना गरिएको हो ।
उक्त बैठकमा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा क्रियाशील सदस्यता केन्द्रीय व्यवस्थापन समितिका सदस्यहरूको उपस्थिति रहनेछ ।
नेताहरूले दिएको जानकारी अनुसार, बैठकमा विशेष गरी क्रियाशील सदस्यताको नवीकरण, वितरण तथा महाधिवेशनको तयारी लगायतका विविध विषयमा छलफल हुनेछ ।