काठमाडौँका स्पा र होटलमा यौनजन्य कार्यमा संलग्न ५ जना पक्राउ, ८ बालिकाको उद्धार,

काठमाडौँ, ४ पुस । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौँ उपत्यकाका विभिन्न स्पा सेन्टर र होटलहरूबाट आठ जना बालिकाको उद्धार गरेको छ। नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्ति तथा यौनजन्य कार्यमा संलग्न गराएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हाे।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार काठमाडौँका डान्सबार, क्लब, स्पा तथा गेष्टहाउसहरूमा बालिकाहरूलाई आर्थिक प्रलोभनमा पारी यौनशोषण गर्ने गरेको सूचनाका आधारमा छापा मारिएको थियो।

प्रहरी टोलीले ठमेलस्थित गोल्डेन स्पा, चावहिलस्थित फायर लाउन्ज एण्ड क्लब, बौद्धस्थित लक्की स्पा तथा नयाँ बसपार्क मित्रनगरस्थित सुदूरपश्चिम खाजाघर र खप्तड सुदूरपश्चिम गेष्टहाउसमा छापा मारी बालिकाहरूको उद्धार गरेको हो।

बालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको आरोपमा पक्राउ पर्नेहरूमा हेमन्त श्रेष्ठ (३२ वर्ष), बूढानीलकण्ठ–१३, काठमाडौँ, गीताकुमारी आचार्य (४० वर्ष), दुधौली–१२, सिन्धुली, गोविन्द बुढाथोकी (४५ वर्ष), कुमाख–४, सल्यान, हरिभक्त गिरी (४२ वर्ष), छबिसपाथीभेरा–१, बझाङ र भीमबहादुर साउद (४९ वर्ष), गौरीगङ्गा–६, कैलाली रहेका छन् ।

पक्राउ परेकाहरूमाथि जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई मानव बेचबिखन तथा ओसारपसार कसुरमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *