सभामुख घिमिरे र चिनियाँ राजदूत सोङबीच बिदाइ भेट: बिआरआइ कार्यान्वयन र द्विपक्षीय हितमा छलफल

काठमाडौँ, ६ पुस । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङबीच आज बिदाइ भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको उक्त भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य र संसदीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ ।

आफ्नो कार्यकाल पुरा गरी स्वदेश फर्किन लाग्नुभएका राजदूत सोङलाई सभामुख घिमिरेले सफल कार्यकालका लागि धन्यवाद दिनुभयो । सो अवसरमा सभामुखले नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध सुदृढ बनाउन र दुई देशका संसद्बीचको सम्बन्धलाई थप मजबुत बनाउन राजदूत सोङले पुर्‍याउनुभएको योगदानको उच्च प्रशंसा गर्नुभयो ।

भेटका क्रममा सभामुख घिमिरेले सन् २०२५ लाई नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका रूपमा मनाइएको स्मरण गर्दै यसले दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको उल्लेख गर्नुभयो । उहाँले नेपाल सदैव ‘एक–चीन सिद्धान्त’ प्रति पूर्ण प्रतिबद्ध रहेको दोहोर्‍याउँदै नेपाली भूमि चीनविरुद्ध कुनै पनि गतिविधिमा प्रयोग हुन नदिने विश्वास दिलाउनुभयो ।

नेपाललाई ‘भूपरिवेष्ठित’ बाट ‘भू-जडित’ मुलुक बनाउन चीनले पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गर्दै सभामुखले संसद् तहमा हुने नियमित भ्रमणले दुई देशको जनस्तरको सम्बन्धलाई समेत फराकिलो बनाएको बताउनुभयो ।

सभामुख घिमिरेले चीन सरकारको विकास सहायताप्रति आभार व्यक्त गर्दै ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बिआरआइ) सम्झौताअन्तर्गतका आयोजनाहरू र अन्य विकास निर्माणका परियोजनालाई यथाशीघ्र कार्यान्वयनको चरणमा लैजानुपर्नेमा जोड दिनुभयो ।

बिदाइ भेटमा राजदूत छन सोङले चीनको वैदेशिक नीतिमा नेपाल सधैँ उच्च प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले सन् २०२० मा चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणका क्रममा भएका सम्झौताहरू कार्यान्वयनको दिशामा महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गर्नुभयो ।

राजदूत सोङले नेपालमा लगानीका लागि चिनियाँ व्यवसायीहरू निकै इच्छुक रहेको जानकारी दिँदै भन्नुभयो, “हालै सम्पन्न आर्थिक सहकार्य र लगानीसम्बन्धी कार्यशालाले धेरै चिनियाँ लगानीकर्तालाई आकर्षित गरेको छ । अबको ध्यान आर्थिक सम्बन्ध विस्तारमा केन्द्रित हुनुपर्छ ।”