आरक्षण नेसनल स्कुलमा ‘बृहत शैक्षिक प्रदर्शनी’, विद्यार्थीको सिर्जनामा रमाए अभिभावक
भक्तपुर, ६ पुस । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित आरक्षण नेसनल एकेडेमीले शनिबार ‘बृहत विषयगत शैक्षिक प्रदर्शनी’ सम्पन्न गरेको छ।
विद्यार्थीहरूलाई पाठ्यपुस्तकको ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक सीप सिकाउने उद्देश्यले आयोजित प्रदर्शनीमा अभिभावकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
प्रदर्शनीमा विद्यार्थीहरूले विज्ञान, गणित, सामाजिक अध्ययन तथा वातावरण विज्ञानलगायतका विषयमा आधारित प्रोजेक्ट वर्क, मोडेल र विभिन्न प्रयोगात्मक सामग्रीहरू प्रस्तुत गरेका थिए। विद्यार्थीहरूले बनाएका सामग्री अवलोकन गर्दै अभिभावकहरूले उनीहरूको सिर्जनशीलता र मिहेनतको खुलेर प्रशंसा गरेका थिए।
विद्यालयले सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्न, वैज्ञानिक सोचको विकास गर्न र सिकाइलाई थप रोचक बनाउन प्रदर्शनी आयोजना गरिएको जनाएको छ। यस्ता कार्यक्रमले विद्यार्थीको आत्मविश्वास बढाउनुका साथै शिक्षक, अभिभावक र विद्यार्थीबीचको सम्बन्धलाई सुदृढ बनाउने विद्यालयको विश्वास छ।
पछिल्लो समय सुडाल क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको आरक्षण नेसनल स्कुलले विभिन्न अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्टता हासिल गर्दै आएको छ।