त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित दुई भारतीय नागरिक पक्राउ
काठमाडौँ, ७ पुस । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब ४ किलो २८४ ग्राम गाँजा लागूऔषधसहित ३३ वर्षीय भारतीय नागरिक रञ्जित सिंह आइतबार पक्राउ परेका छन्।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार, थाई एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौँ आएका सिंहलाई विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयको संयुक्त टोलीले जाँच गर्दा उनको लगेजबाट उक्त लागूऔषध फेला परेको थियो।
सोही लागूऔषध सङ्कलन गर्न आएका अर्का भारतीय नागरिक पुनित शर्मालाई पनि विमानस्थलको अन्तरराष्ट्रिय आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको छ। उनीहरू दुवैलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ।
यसैबीच, नागार्जुन नगरपालिका–२ ठूलो भर्याङमा डेरा गरी बस्ने कैलाली धनगढी उपमहानगरपालिका–३ घर भएका ४० वर्षीय रोबिन भट्टराईको कोठाबाट सुन तथा चाँदीका गरगहना लगायत करिब २ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको जनाएको छ।