जेनजी आन्दोलनका क्रममा फरार ११ कैदीबन्दी सिरहामा पक्राउ, एक थान बन्दुक पनि फेला

सिरहा, ८ पुस । गत भदौ २४ गतेको ‘जेनजी आन्दोलन’का क्रममा देशका विभिन्न कारागार र बाल सुधार गृह तोडेर फरार भएकामध्ये ११ जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना नाबालकसमेत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ परेका कैदीबन्दीहरू जलेश्वर, नख्खु, जगन्नाथ देवल, सप्तरी, सिन्धुली, केन्द्रीय कारागार र वीरगञ्जस्थित बाल सुधार गृहबाट फरार भएका थिए । आन्दोलनको क्रममा भएको अस्तव्यस्तताको फाइदा उठाउँदै उनीहरू भाग्न सफल भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पण्डितले पक्राउ परेकामध्ये नौ जनालाई सम्बन्धित कारागार तथा बाल सुधार गृहमा बुझाइसकिएको जानकारी दिनुभयो । बाँकी दुई जनालाई पनि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया चलिरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, सिरहाको धनगढीमाई नगरपालिका–११ डाबरटोलस्थित चितवा खोला नजिकबाट प्रहरीले एक थान बेवारिसे भरुवा बन्दुक बरामद गरेको छ । सोमबार दिउँसो फेला परेको उक्त बन्दुक कसले र कुन प्रयोजनका लागि त्यहाँ छोडेको हो भन्नेबारे इलाका प्रहरी कार्यालय लहानले अनुसन्धान सुरु गरेको छ ।