काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम मापन, पारो ४.९ डिग्रीमा झर्‍यो

काठमाडौँ, ८ पुस । काठमाडौँ उपत्यकासहित देशभर चिसोको प्रकोप बढ्दै गएको छ । आज मंगलबार काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम रेकर्ड गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियस मापन गरिएको छ । मौसमविद् हरिप्रसाद दाहालले हिजोको तुलनामा आज तापक्रम झण्डै दुई डिग्रीले घटेको जानकारी दिए । हिजो सोमबार उपत्यकाको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस थियो ।

यसअघि गत मङ्सिर २८ गते काठमाडौँको तापक्रम ५ डिग्री सेल्सियस पुगेको थियो, जुन यस वर्षको अहिलेसम्मकै कम रेकर्ड थियो । आजको गिरावटसँगै चिसोले थप कडा रूप लिएको छ ।

तराईमा बाक्लो हुस्सु, जुम्लामा माइनस ३ डिग्री
काठमाडौँमा चिसो बढेसँगै तराईका जिल्लाहरूमा पनि बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित भएको छ । कतिपय जिल्लामा अत्यधिक चिसो र शितलहरका कारण विद्यालयहरू समेत बन्द गर्न थालिएको छ । विभागका अनुसार आज देशकै सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ३ डिग्री सेल्सियस रेकर्ड गरिएको छ ।

मौसमविद् दाहालका अनुसार हाल नेपालमा कुनै ठूलो मौसमी प्रणाली (वर्षा गराउने प्रणाली) सक्रिय छैन । पश्चिमी वायु सक्रिय हुन नसक्दा र हिउँदे वर्षा नहुँदा तराईमा हुस्सु र कुहिरोको प्रभाव बढेको हो । “पर्याप्त वर्षा नहुँदा वायुमण्डलमा रहेको आर्द्रताले कुहिरोको रूप लिएको हो, जसले गर्दा घाम लाग्न नसक्दा चिसो बढेको छ,” उनले भने ।

हिमाली क्षेत्रमा भने मौसम सामान्यतया सफा रहे पनि हिमपातका कारण चिसो कायमै छ । विभागले चिसोबाट बच्न र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा अनुरोध गरेको छ ।