चिनियाँ राजदूत छन सङद्वारा राष्ट्रपति पौडेलसँग बिदाइ भेट
काठमाडौँ, ८ पुस । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सङले बिदाइ भेट गर्नुभएको छ।
आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरी स्वदेश फर्किन लाग्नुभएका राजदूत सङले मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्नुभएको हो।
भेटका क्रममा उहाँहरूबीच नेपाल र चीनबीचको सदियौँ पुरानो ऐतिहासिक सम्बन्ध, द्विपक्षीय हित तथा साझा चासोका विविध विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ। सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल-चीन सम्बन्धलाई सुमधुर बनाउन राजदूत सङले खेल्नुभएको भूमिकाको प्रशंसा गर्नुभएको थियो।
राष्ट्रपति पौडेलले राजदूत सङलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा बधाई ज्ञापन गर्दै उहाँको आगामी सुखद भविष्यको कामना समेत गर्नुभयो। चीनले नेपालको विकास र समृद्धिमा पुर्याउँदै आएको सहयोगप्रति राष्ट्रपतिले आभार प्रकट गर्नुभएको थियो।