नख्खु जेलबाट फरार भई ठमेलमा साथीको हत्या गर्ने आकाश रोल्पामा पक्राउ
रोल्पा, ९ पुस । ‘जेन-जी’ आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भई काठमाडौँको ठमेलमा एक युवकको हत्या गर्ने आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्राउ गरेको छ । रोल्पा प्रहरीको टोलीले लुकिछिपी बसेको अवस्थामा मगरलाई नियन्त्रणमा लिएको हो ।
रोल्पा प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुनिल थापा नेपालीका अनुसार मगरले गत असोज १३ गते काठमाडौँको ठमेलमा मकवानपुरका २५ वर्षीय सुरज तामाङमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका तामाङको भोलिपल्ट वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरी अनुसन्धानबाट मृतक तामाङ र फरार मगर चिनजानकै साथी रहेको खुलेको छ ।
जेल ब्रेक र फरारको घटना
आकाश मगर लागुऔषध मुद्दामा दोषी ठहर भई २०८० असोज २७ गतेदेखि नख्खु कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए । तर, गत भदौ २४ गते देशभर भएका ‘जेन-जी’ आन्दोलनको फाइदा उठाउँदै नख्खुसहित विभिन्न कारागारमा भएको आगजनी र हुलदङ्गाका क्रममा उनी फरार हुन सफल भएका थिए ।
कारागारबाट भागेको केही समयमै उनले ठमेलमा साथीको हत्या गरेर पुनः फरार भएका थिए । लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका मगरलाई रोल्पामा फेला पारिएपछि आवश्यक कानुनी कारबाहीका लागि काठमाडौँ पठाइएको रोल्पा प्रहरीले जनाएको छ ।
भदौ २४ को सोही आन्दोलनका क्रममा नख्खु र अन्य कारागारबाट ठुलो सङ्ख्यामा कैदीबन्दीहरू फरार भएका थिए, जसमध्ये प्रहरीले धेरैलाई पुनः पक्राउ गरिसकेको छ भने केही अझै फरार छन् ।