अन्तरिक्षमा भारतको नयाँ कीर्तिमान: इसरोद्वारा ६ हजार १०० केजीको उपग्रह सफलतापूर्वक प्रक्षेपण

नयाँ दिल्ली, ९ पुस । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले बुधबार आफ्नो इतिहासकै सबैभन्दा धेरै तौल भएको उपग्रह सफलतापूर्वक प्रक्षेपण गरी नयाँ कीर्तिमान कायम गरेको छ।

इसरोले ‘एलभीएम–३ एम–६’ रकेटमार्फत अमेरिकामा निर्मित ‘एएसटी स्पेसमोबाइल’ सञ्चार उपग्रहलाई पृथ्वीको तल्लो कक्षमा सफलतापूर्वक स्थापित गरेको हो।

इसरोका अनुसार यो भारतीय भूमिबाट प्रक्षेपण गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो पेलोड (तौल) हो। उक्त उपग्रहको तौल करिब ६ हजार १०० किलोग्राम रहेको छ, जुन यसअघिको कीर्तिमानभन्दा निकै बढी हो। यसअघि भारतले ४ हजार ४१० किलोग्रामको सीएमएस–०३ उपग्रह प्रक्षेपण गरेको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस उपलब्धिलाई भारतको अन्तरिक्ष यात्रामा एक ‘गर्व गर्न लायक कोसेढुङ्गा’ भन्दै प्रशंसा गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत बधाई दिँदै यसले अन्तर्राष्ट्रिय व्यावसायिक प्रक्षेपण बजारमा भारतको उपस्थितिलाई अझ मजबुत बनाएको उल्लेख गर्नुभयो।

विश्वभर उन्नत सञ्चार सेवाका लागि उपग्रहको माग बढिरहेका बेला भारतले कम लागतमा उपग्रह प्रक्षेपण सेवा दिएर विश्व बजारमा आफ्नो पकड बलियो बनाउँदै लगेको छ। यो प्रक्षेपणमा प्रयोग गरिएको परिमार्जित एलभीएम–३ रकेटलाई भविष्यका महत्त्वपूर्ण अन्तरिक्ष मिसनहरूको आधार मानिएको छ।

इसरोले आफ्नो महत्त्वाकाङ्क्षी अन्तरिक्ष योजनाअनुसार सन् २०२७ अघि मानवविहीन कक्षीय उडान र त्यसपछि पहिलो मानव अन्तरिक्ष यात्रा (गगनयान) गर्ने तयारी गरिरहेको छ। भारतले सन् २०४० सम्ममा चन्द्रमामा भारतीय अन्तरिक्ष यात्री पठाउने दीर्घकालीन लक्ष्यसमेत सार्वजनिक गरिसकेको छ।
बुधबारको यो सफल प्रक्षेपणले भारतको अन्तरिक्ष प्रविधिको क्षमतालाई विश्वस्तरमा पुनः प्रमाणित गरिदिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *