त्रिविको ५१औँ दीक्षान्त समारोह : १६ हजारभन्दा बढी विद्यार्थी दीक्षित
काठमाडौँ, १० पुस । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ५१औँ दीक्षान्त समारोह बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भव्यताका साथ सम्पन्न भएको छ । समारोहमा विभिन्न सङ्कायका १६ हजार ३०० भन्दा बढी विद्यार्थीहरू प्रत्यक्ष रूपमा दीक्षित भएका छन् ।
विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीले विद्यार्थीहरूलाई दीक्षित भएको घोषणा गर्नुभएको हो । यस वर्ष स्नातक, स्नातकोत्तर, दर्शनाचार्य (एमफिल) र विद्यावारिधि (पिएचडी) तह पार गरेका कुल ८९ हजार १०१ विद्यार्थीहरू उत्तीर्ण भए पनि समारोहमा सहभागी हुन आवेदन दिएकाहरूलाई दीक्षित गरिएको हो ।
यस वर्षको दीक्षान्त समारोह त्रिविको इतिहासमा विशेष बनेको छ । विश्वविद्यालयको इतिहासमै पहिलो पटक नोबेल पुरस्कार विजेता व्यक्तित्वलाई प्रमुख अतिथिका रूपमा निम्त्याइएको छ । जापानी प्राध्यापक ताकाआकी काजिताले प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै दीक्षित विद्यार्थीहरूलाई बधाई तथा सफलताको शुभकामना दिनुभयो ।
समारोहमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन लगायत प्राज्ञिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका उपकुलपति प्रा. दीपक अर्यालले त्रिवि क्रमिक रूपमा सुधारको मार्गमा अघि बढिरहेको दाबी गर्नुभयो । उहाँले शैक्षिक क्यालेण्डरको पालना र गुणस्तर सुधारमा विशेष जोड दिइएको बताउँदै दीक्षित विद्यार्थीहरूलाई आफूले प्राप्त गरेको ज्ञान राष्ट्र हितमा लगाउन आग्रह गर्नुभयो ।
दशरथ रङ्गशालामा गाउन र स्कार्फमा सजिएका हजारौँ विद्यार्थी र उनीहरूका अभिभावकहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।