थाइल्यान्डद्वारा विवादित सीमा क्षेत्रबाट विष्णुको मूर्ति विस्थापित : सुरक्षा र नियन्त्रण मुख्य कारण
काठमाडौँ, पुस १० । थाइल्यान्ड सरकारले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको हिन्दू देवता विष्णुको मूर्ति आफ्नो सेनाले हटाएको पुष्टि गरेको छ । सीमा क्षेत्रमा सुरक्षा सुनिश्चित गर्ने र प्रभावकारी नियन्त्रण कायम राख्ने उद्देश्यले यो कदम चालिएको सरकारको दाबी छ ।
थाई सरकारले मूर्ति हटाउनुको पछाडि कुनै धर्म वा विश्वासको अपमान गर्ने मनसाय नरहेको स्पष्ट पारेको छ । आधिकारिक बयानमा भनिएको छ कि उक्त संरचना कुनै दर्ता भएको धार्मिक स्थल नभई केवल एउटा सजावटी तत्वका रूपमा रहेको थियो । गुगल म्यापका अनुसार उक्त मूर्ति कम्बोडियाको सीमाबाट करिब ४०० मिटरको दूरीमा अवस्थित थियो ।
दुई देश बिच दुई हप्तादेखि जारी सैन्य तनावका बिच यो मूर्ति हटाइएपछि कम्बोडियाली अधिकारीहरूले कडा आपत्ति जनाएका छन् । कम्बोडियाको प्रेह विहार प्रान्तका प्रवक्ताले सन् २०१४ मा निर्मित उक्त मूर्तिलाई गत सोमबार सेनाले हटाएको जानकारी दिए । सो मूर्ति भत्काइएको भिडियो यतिबेला थाई सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ ।
यो क्षेत्र लामो समयदेखि सीमा विवादको केन्द्र रहँदै आएको छ । यसै महिना सुरु भएको पछिल्लो सैन्य झडपमा परी हालसम्म थाइल्यान्डका २३ सैनिक र कम्बोडियाका २१ सर्वसाधारणको मृत्यु भइसकेको सरकारी तथ्याङ्कले देखाएको छ ।
थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले यस घटनालाई सुरक्षाको दृष्टिकोणबाट हेर्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “नष्ट भएको मूर्तिलाई हाम्रा सैनिकहरूको जीवन वा अङ्गहरूसँग तुलना गर्न सकिँदैन ।” उहाँले सीमा विवादलाई थप बढ्न नदिन र स्थिति नियन्त्रणमा राख्न सरकार सक्रिय रहेको समेत उल्लेख गर्नुभयो ।
