आगामी निर्वाचनको वातावरण बनाउन राजनीतिक सक्रियता : ओली भेट्न गुण्डु पुगे सञ्चारमन्त्री खरेल
काठमाडौँ, ११ पुस । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनको वातावरण सहज बनाउने सरकारको पहलकदमी अन्तर्गत मन्त्री खरेल शुक्रबार ओली निवास गुण्डु पुग्नुभएको हो ।
मन्त्री खरेल र अध्यक्ष ओलीबीच अहिले गुण्डुमा समसामयिक राजनीतिक विषय र आसन्न निर्वाचनका बारेमा छलफल भइरहेको छ । सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन तय गरेको छ । सोही निर्वाचनलाई सफल बनाउन र राजनीतिक सहमति जुटाउन सरकारले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँगको संवादलाई तीव्रता दिएको हो ।
निर्वाचनको वातावरण निर्माणका लागि ठुला दलहरूसँगको सम्बन्ध सुधार र सहकार्य गर्न सरकारले उच्चस्तरीय समिति नै बनाएर संवाद थालेको छ । यही सिलसिलामा मन्त्री खरेलले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरिसक्नुभएको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई निष्पक्ष, विश्वसनीय र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रमुख तीन दलका शीर्ष नेताहरूसँग सघन रूपमा छलफल अगाडि बढाइएको सरकारी पक्षले जनाएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा सरकार र प्रतिपक्षबीचको संवादलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ ।