आधुनिकताको कोलाहलमा मधुरो बन्दै ‘डफला’को धुन
काठमाडौँ, पुस १२ । कुनै समय तराई-मधेसका गाउँवस्तीमा साँझ पख एउटा गम्भीर र मीठो धुन गुञ्जन्थ्यो । त्यो केवल बाजाको ताल मात्र थिएन, मधेसी जनजीवनका हरेक उकाली-ओरालीको साक्षी थियो । शुभकार्यमा मङ्गल धुन बनेर गुञ्जने र मृत्यु संस्कारमा अन्तिम बिदाइको गम्भीर स्वर बन्ने त्यो ‘डफला’ बाजा आजभोलि भने आधुनिक डिजे र ब्यान्ड बाजाको चर्को स्वरमा हराउँदै गएको छ ।
समय फेरिएको छ, र समयसँगै मानिसका रुचि पनि । लुम्बिनी सांस्कृतिक नगरपालिका-११ का दिनेश लोध भन्नुहुन्छ, “लोक-संस्कारको पर्याय मानिने डफला अहिले अस्तित्व रक्षाका लागि सङ्घर्ष गरिरहेको छ । आधुनिकताको कोलाहलले हाम्रो मौलिक धुनलाई विस्तारै मधुरो बनाउँदै लगेको छ ।”
के हो डफला ?
डफला नेपालको अवध क्षेत्रको एक विशिष्ट र प्राचीन ताल बाजा हो । हेर्दा सामान्य देखिने यो बाजा सिसौ वा कर्माको काठलाई गोलाकार घेरा (फ्रेम) बनाएर तयार पारिन्छ । यसको एकातर्फ बाख्रा वा गाईको प्रशोधित छाला मढिएको हुन्छ । देब्रे हातले समातेर दाहिने हातका औँला, हत्केला वा दुईवटा पातला लट्ठीको सहायताले यसलाई बजाइन्छ । यसबाट निस्कने ध्वनि जति गम्भीर हुन्छ, त्यति नै हृदयस्पर्शी पनि ।
अध्यात्म र संस्कृतिसँगको साइनो
डफलाको सम्बन्ध केवल मनोरञ्जनसँग मात्र छैन, यो त सांस्कृतिक र आध्यात्मिक जरोसँग जोडिएको छ । ६० वर्षीय डफला वादक राम उजागिर चमारका अनुसार यसको उत्पत्ति भगवान शिवको ताण्डव नृत्यसँग जोडिएको लोकविश्वास छ । “हाम्रा पुर्खाले भन्थे, यो भगवान शिवको डमरु र खैँझडीको विकसित स्वरूप हो,” उहाँ सुनाउनुहुन्छ, “शिवले ताण्डव गर्दाको त्यो ब्रह्माण्डीय ताललाई धर्तीमा उतार्न काठ र छालाको मिश्रणबाट डफला बनाइएको हो ।”
विशेषगरी वसन्त पञ्चमीदेखि नै गाउँका चौतारा र दलानमा डफलाको तालमा ‘होरी’ (फागु गीत) गाउने परम्परा छ । यसले आपसी सद्भाव र एकताको सञ्चार गर्दछ । दीपावली, पञ्चमी र विभिन्न सांस्कृतिक उत्सवमा डफला विनाको सङ्गीत अपुरो मानिन्छ ।
जातीय पहिचान र सङ्कट
डफला विशेषगरी दलित समुदायभित्रका चमार र धरिकार जातिको पहिचानसँग जोडिएको छ । मोछू चमारका अनुसार यो उनीहरूको जातीय गौरवको प्रतीक पनि हो । तर, यही गौरव अहिले सङ्कटमा छ । सम्मरीमाई–७ का ८० वर्षीय झगरु मुराव भन्नुहुन्छ, “नयाँ पुस्तामा आधुनिकताको मोह बढ्यो । वैदेशिक रोजगारी र सामाजिक सम्मानको कमीले गर्दा युवाहरूले यो सीप सिक्न छाडे । अब त डफला सम्झनामा मात्र सीमित हुने हो कि भन्ने डर छ ।”
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. त्रिभुवन बरइ यो सीप निश्चित समुदायमा मात्र सीमित रहनुलाई पनि सङ्कटको एउटा कारण मान्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “आधुनिक सङ्गीतले क्षणिक मनोरञ्जन त दिन्छ, तर डफलाले दिने आत्मिक शान्ति र सांस्कृतिक गहिराइ यसमा छैन ।”
संरक्षणको खोजी
डफलालाई सङ्ग्रहालयको वस्तु मात्र हुन नदिन स्थानीय तहले केही पहल सुरु गरेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजन कलाकारहरूलाई प्रोत्साहन भत्ता र सामाजिक सम्मान दिने योजना बनाउनुपर्ने बताउनुहुन्छ । “पेसागत पुस्तान्तरण नहुनु ठूलो समस्या हो,” उहाँ भन्नुहुन्छ, “हामी सामूहिक डफला वादन प्रतियोगिता आयोजना गरेर युवाहरूलाई आकर्षित गर्ने सोचमा छौँ ।”
त्यस्तै, प्रदेशसभा सदस्य वसीउद्दीन खाँ यसलाई विद्यालयको पाठ्यक्रममै समावेश गर्नुपर्ने तर्क राख्नुहुन्छ । उहाँको विचारमा यो सीपलाई जातीय घेराबाट बाहिर ल्याएर इच्छुक जो कोहीलाई पनि तालिम दिने व्यवस्था मिलाउनुपर्छ ।
तराईको माटो र मधेसको मुटुसँग जोडिएको डफलाको ताल थर्कन छाड्यो भने एउटा जीवन्त इतिहास मौन हुनेछ । राज्य र समुदाय दुवैले समयमै ध्यान नदिने हो भने, डफलाको इतिहास भोलिका पुस्ताका लागि किताबका पानामा मात्र सीमित रहने निश्चित छ ।