तराईमा बाक्लो हुस्सु, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौँ, १३ पुस । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले मौसममा विविधता देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईका अधिकांश भू–भागमा बाक्लो हुस्सु र कुहिरो लाग्ने सम्भावना छ ।
महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ । बाँकी भागमा भने मौसम मुख्यतया सफा रहनेछ ।
आज राति पनि तराईका जिल्लाहरूमा हुस्सुको प्रभाव कायमै रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा आंशिक बदली भए पनि अन्य क्षेत्रको मौसम सफा रहने महाशाखाले जनाएको छ । रातिको समयमा गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।
तराईमा लाग्ने बाक्लो हुस्सु र कुहिरोका कारण दृश्यात्मकता कम भई सडक तथा हवाई यातायात सेवा प्रभावित हुन सक्ने महाशाखाले चेतावनी दिएको छ । साथै, चिसोका कारण जनस्वास्थ्यमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र चिसोबाट बच्ने उपायहरू अवलम्बन गर्न सर्वसाधारणमा अनुरोध गरिएको छ ।