नेपाललाई ‘युक्रेन’ बनाउने षड्यन्त्रको दोस्रो चरण सुरु भयो : शंकर पोखरेल
काठमाडौं, १३ पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेलेर अस्थिर बनाउने षड्यन्त्रको दोस्रो चरण सुरु हुन लागेको दाबी गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सातबुँदे सहमति भएको दिन पोखरेलले यस्तो टिप्पणी गर्नुभएकाे हो ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले नयाँ राजनीतिक शक्तिहरूको उदय र गतिविधिलाई ‘बाह्य स्वार्थ’ सँग जोडेर आशंका व्यक्त गर्नुभएको छ । उहाँले गत भदौ २३ र २४ गतेका घटनाहरूलाई नेपाललाई युक्रेनजस्तै बनाउने षड्यन्त्रको पहिलो चरणका रूपमा चित्रण गर्नुभएको छ ।
पोखरेलले लेख्नुभएको छ, “भदौ २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण थियो । अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि सुरु हुँदैछ ।” उहाँले भदौ २३ मा युवाहरूको प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरिएको र त्यसको आडमा राज्यका आधार स्तम्भमाथि प्रहार गरिएको दाबी समेत गर्नुभएको छ ।
नयाँ शक्तिहरू एकीकृत भइरहेको सन्दर्भमा महासचिव पोखरेलले स्थापित र पुराना राजनीतिक दलहरूबीच एकताको आवश्यकता औंल्याउनुभएको छ । उहाँले संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू एकजुट नभए मुलुक गम्भीर संकटमा फस्ने चेतावनी दिनुभएको छ ।
“यस्तो गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक छ,” उहाँले भन्नुभएको छ, “नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको गोटी बन्नबाट जोगाउन सबैले जिम्मेवार र सक्रिय भूमिका खेल्नुपर्छ ।”