प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता सङ्कलन सुरु गरिँदै : कर्मचारी र सुरक्षाकर्मीले पनि भोट हाल्न पाउने
काठमाडौँ, १३ पुस । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि अस्थायी मतदाता नामावली सङ्कलन प्रक्रिया सुरु गर्ने भएको छ ।
आयोगले ‘मतदाता नामावली ऐन, २०७३’ र ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि, २०८२’ बमोजिम नामावली सङ्कलन कार्यक्रम स्वीकृत गरेको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अस्थायी मतदाता नामावलीमा नाम समावेश गर्नका लागि यही पुस १९ गतेदेखि आगामी माघ १८ गतेसम्मको समयसीमा तोकिएको छ । सम्बन्धित निकायका कार्यालय प्रमुखले आफ्नो कार्यालयमा कार्यरत वा रहेका योग्य व्यक्तिहरूको विवरण प्रमाणित गरी प्रदेश वा जिल्ला निर्वाचन अधिकारीको कार्यालयमा पठाउनुपर्ने व्यवस्था गरिएको छ ।
को-को बन्न पाउँछन् अस्थायी मतदाता ?
आयोगको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका देहायका व्यक्तिहरूले अस्थायी मतदाताका रूपमा नाम दर्ता गराउन पाउनेछन्:
नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहमा कार्यरत कर्मचारी ।
नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व र नियन्त्रणमा रहेका संस्थाका कर्मचारी ।
व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी ।
कारागारमा रहेका थुनुवा र कैदीहरू ।
सरकारी वा सरकारको स्वीकृतिमा सञ्चालित वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरू ।
संवैधानिक निकायका पदाधिकारीहरू ।
आयोगले प्राप्त नामावलीमाथि दाबी-विरोध र आवश्यक जाँचबुझको प्रक्रिया पूरा गरेपछि मात्र अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गर्नेछ । अस्थायी मतदाता सूचीमा समेटिएका मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मात्र मतदान गर्न पाउनेछन् ।