नख्खु कारागारबाट फरारमध्ये ३० प्रतिशत कैदी अझै सम्पर्कविहीन: खोजीका लागि अन्तर्राष्ट्रिय समन्वय
ललितपुर, १७ पुस । ललितपुरस्थित नख्खु कारागारबाट ‘जेनजी आन्दोलन’ को क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । गत भदौ २४ गते कारागारमा भएको तोडफोड र तनावको फाइदा उठाउँदै विभिन्न मुद्दामा सजाय भोगिरहेका १ हजार २८० जना कैदीबन्दी फरार भएका थिए ।
कारागार प्रशासनका अनुसार हालसम्म फरारमध्ये ७० प्रतिशत कैदीबन्दीहरू स्वेच्छाले वा सुरक्षा निकायको सक्रियतामा कारागार फिर्ता भएका छन् । तर, बाँकी ३० प्रतिशत (करिब ३८४ जना) को अवस्था अझै अज्ञात छ ।
नख्खु कारागारका प्रमुख दीर्घराज उपाध्यायले फरार कैदीबन्दीको खोजी कार्यलाई तीव्रता दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार फरारहरूको खोजी नेपालभित्र मात्र सीमित नभई अन्तर्राष्ट्रिय स्तरमा समेत समन्वय गरेर अगाडि बढाइएको छ । “कानुनअनुसार सबै फरार कैदीबन्दीलाई कारागार फर्काउने अभियानमा हामी सक्रिय छौँ, खोजी कार्य निरन्तर जारी छ,” उपाध्यायले भन्नुभयो ।
यसअघि कारागार विभागले गत असोज २० गतेसम्मको समयसीमा तोक्दै फरारहरूलाई स्वःस्फूर्त रूपमा फर्कन आह्वान गरेको थियो । तोकिएको समयभित्र नफर्कनेहरूलाई ‘कारागार ऐन, २०७९’ तथा अन्य प्रचलित कानुनअनुसार थप कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ । कारागार प्रशासनले फरारहरूको पहिचान र नियन्त्रणमा सहयोग गर्न परिवारजन, स्थानीय तह र सरोकारवाला सबै पक्षसँग अपिल गरेको छ ।