युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु भएको रुसको दाबी

काठमाडौँ, पुस १७ । रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी क्षेत्र खेरसोनमा युक्रेनी ड्रोन आक्रमण हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । रुसी अधिकारीहरूका अनुसार बिहीबार भएको उक्त आक्रमणमा ५० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

खेरसोनका रुस नियुक्त गभर्नर भ्लादिमिर साल्डोले सामाजिक सञ्जाल टेलिग्राममार्फत दिएको जानकारीअनुसार ‘ब्ल्याक सी’ (काला सागर) को तटीय क्षेत्रमा रहेको एउटा क्याफे र होटलमा तीनवटा मानवरहित विमान (ड्रोन) ले आक्रमण गरेका थिए । उनले सार्वजनिक गरेका तस्बिरहरूमा आगोले जलेका भवनहरू, धुवाँको मुस्लो र भग्नावशेषको थुप्रो देखिएको छ ।

रुसी अनुसन्धान समितिले यस घटनालाई गम्भीरतापूर्वक लिँदै अनुसन्धान सुरु गरेको जनाएको छ । यस्तै, रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले युक्रेनले नियतवश सर्वसाधारणलाई लक्षित गरी ‘आतङ्कवादी हमला’ गरेको आरोप लगाउनुभएको छ ।

यस विषयमा युक्रेनी अधिकारीहरूले भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।

आक्रमण भएको खोरली गाउँ सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेदेखि नै रुसी सेनाको नियन्त्रणमा रहँदै आएको छ । यद्यपि, सन् २०२२ को अन्त्यतिर युक्रेनी सेनाले प्रत्याक्रमण गरी खेरसोन क्षेत्रको ठूलो हिस्सा र क्षेत्रीय राजधानी पुनः आफ्नो कब्जामा लिएको थियो । पछिल्लो समय यस क्षेत्रमा दुई पक्षबीच तनाव र आक्रमणका घटनाहरू बढ्दै गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *