भेनेजुएलामा अमेरिकी सैन्य कारबाही: ३२ क्युबाली अधिकारी मारिएको क्युबाद्वारा पुष्टि

एजेन्सी (क्युबा) २१ पुस । भेनेजुएलामा अमेरिकी सेनाले गरेको सैन्य कारबाहीमा आफ्ना ३२ जना सेना र प्रहरी अधिकारीको मृत्यु भएको क्युबाली सरकारले पहिलोपटक आधिकारिक रूपमा पुष्टि गरेको छ । भेनेजुएला सरकारको आग्रहमा त्यहाँ सुरक्षा र सैन्य सहयोगका लागि खटिएका क्युबाली अधिकारीहरू अमेरिकी आक्रमणको निसानामा परेका हुन् ।

क्युबाली सरकारी टेलिभिजनमार्फत जारी विज्ञप्तिमा भनिएको छ, “हाम्रा नागरिकहरूले आफ्नो जिम्मेवारी इमानदारी र वीरतापूर्वक पूरा गरेका छन् । उनीहरूले प्रत्यक्ष लडाइँ र बमबारीमा परेर आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा ज्यान गुमाएका हुन् ।”

यस घटनापछि क्युबा सरकारले देशैभर दुई दिनको राष्ट्रिय शोक घोषणा गरेको छ । शोकको समयमा राजधानी हाभानासहित देशका विभिन्न स्थानमा तय गरिएका सार्वजनिक कार्यक्रम र सरकारी समारोहहरू स्थगित गरिएको समाचार एजेन्सीहरूले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सैन्य अभियानलाई सफल दाबी गर्दै भन्नुभएको छ, “अर्को पक्षमा धेरै जनाको मृत्यु भयो, तर हाम्रो तर्फ कोही पनि मरेको छैन ।” अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई नियन्त्रणमा लिएर अमेरिका ल्याउने उद्देश्यले मडुरोको नियन्त्रणमा रहेका क्षेत्रहरूलाई लक्षित गरी यो कारबाही सञ्चालन गरेको थियो ।

क्युबा र भेनेजुएला लामो समयदेखि नजिकका राजनीतिक र सैन्य सहयोगी रहँदै आएका छन् । क्युबाले भेनेजुएलाको सुरक्षा संयन्त्रलाई बलियो बनाउन आफ्ना सैनिक र प्रहरी अधिकारीहरू पठाउने गरेको छ ।
यस घटनाले अमेरिका, क्युबा र भेनेजुएलाबीचको त्रिपक्षीय सम्बन्धमा नयाँ र गम्भीर तनाव पैदा गर्ने विश्लेषकहरूले टिप्पणी गरेका छन् । आगामी दिनमा क्युबाले लिने प्रतिक्रिया र अमेरिकी प्रशासनको थप रणनीतलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरेको छ ।