बुटवलमा कारको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक हवल्दारको मृत्यु, चालक नियन्त्रणमा

लुम्बिनी, २१ पुस । रुपन्देहीको बुटवलमा गुडिरहेको कारको ठक्करबाट ड्युटीमा खटिएका एक ट्राफिक प्रहरी हवल्दारको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गको धागो कारखाना नजिकै सोमबार साँझ उक्त दुर्घटना भएको हो ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका अनुसार मृत्यु हुनेमा ट्राफिक प्रहरी हवल्दार नागेश्वर पाल रहेका छन् । पाल राजमार्गमा गुडिरहेका सवारी साधनको नियमित जाँच र ट्राफिक व्यवस्थापनका लागि ड्युटीमा खटिएका थिए । सोही क्रममा उनलाई बाग्मती प्रदेश १–०३३–च ००७७ नम्बरको क्रेटा कारले ठक्कर दिएको थियो ।

दुर्घटना लगत्तै घाइते भएका पाललाई उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने कार र त्यसका चालक गुल्मीको रेसुङ्गा नगरपालिका–१ बस्ने ५६ वर्षीय दीपेन्द्रसिंह थापालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ ।

दुर्घटनाको कारण र घटनाबारे थप अनुसन्धान भइरहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।