इन्डोनेसियामा बाढी र पहिरोका कारण १६ जनाको मृत्यु : तीन बेपत्ता

काठमाडौँ, पुस २२ । इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा आएको विनाशकारी बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । भारी वर्षासँगै आएको प्राकृतिक विपद्मा परी अन्य तीन जना अझै बेपत्ता रहेको राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सीले जनाएको छ । विपद् व्यवस्थापन एजेन्सीका अनुसार स्थानीय समयअनुसार बिहान २:३० बजे सितारो टापु रिजन्सीमा मुसलधारे वर्षापछि नदीको सतह बढ्दा बाढी र पहिरोले वितण्डा मच्चाएको हो । बाढीका कारण यस क्षेत्रको जनजीवन पूर्णतः अस्तव्यस्त बनेको छ ।

एजेन्सीका सूचना केन्द्र प्रमुख अब्दुल मुहारीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बाढीले चार जिल्लाका कम्तीमा १४८ घरहरूमा क्षति पुर्‍याएको छ । जसमा ७ वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने २९ वटामा गम्भीर र ११२ वटा घरमा सामान्य क्षति पुगेको छ। विपद्मा परी २२ जना घाइते भएका छन्, जसको स्थानीय स्वास्थ्य केन्द्रहरूमा उपचार भइरहेको छ ।

विपद्पछि ६८२ जना बासिन्दालाई सुरक्षित अस्थायी आश्रय स्थलमा सारिएको छ । बेपत्ताहरूको खोजी र राहत वितरणका लागि सेना, प्रहरी, खोजी तथा उद्धार टोली र स्वयंसेवकहरू परिचालन गरिएको छ । भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण उद्धार कार्यमा केही चुनौती थपिएको अधिकारीहरूले बताएका छन् ।

स्थानीय प्रशासनले जनवरी ५ देखि जनवरी १८ सम्मका लागि १४ दिने ‘आपतकालीन प्रतिक्रिया अवधि’ घोषणा गरेको छ । चरम मौसमी जोखिम अझै कायम रहने पूर्वानुमान गरिएको भन्दै अधिकारीहरूले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

इन्डोनेसियामा वर्षायामको समयमा आकस्मिक बाढी र पहिरो जाने क्रम बर्सेनि दोहोरिने गरेको छ। यस पटकको विपद्ले भौतिक पूर्वाधारमा ठुलो चोट पुर्‍याएको र जनधनको क्षति बढाएको भन्दै सरकारले पुनःस्थापनाका कार्यक्रमहरू छिट्टै सुरु गर्ने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *