कुलमानले दिए राजीनामा, रास्वपाको राजनीति रोजेपछि प्रधानमन्त्रीको ‘एक्जिट’ निर्देशन
काठमाडौँ, २३ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफ्नो पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भई सक्रिय राजनीतिमा लाग्ने निर्णयसँगै चौतर्फी नैतिक प्रश्न उठेपछि उनले राजीनामा दिन लागेका हुन्।
मन्त्री घिसिङले आज (बुधबार) राति ९ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरी औपचारिक राजीनामा दिएका हुन् ।
गत साउन–भदौमा भएको ‘जेनजी आन्दोलन’ को रापतापपछि गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा घिसिङ भदौ ३० गते मन्त्री नियुक्त भएका थिए। उनले ऊर्जासहित भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास गरी तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए।
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बाहिरिएपछि घिसिङले ‘उज्यालो नेपाल पार्टी’ दर्ता गराएका थिए। तर, गत पुस १४ गते सो पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गराई आफू उपसभापति बन्ने सहमति गरेपछि उनी विवादमा तानिएका थिए।
गैरदलीय चरित्रको भनिएको सरकारमा रहेकै बेला एउटा राजनीतिक दलको शीर्ष पद लिने निर्णय गरेपछि घिसिङको सामाजिक सञ्जाल र जनस्तरमा चर्को आलोचना भएको थियो। यसै सन्दर्भमा गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई पदबाट राजीनामा दिन निर्देशन दिएकी थिइन्। प्रधानमन्त्रीको निर्देशन र बढ्दो नैतिक दबाबका बीच उनले आज पदबाट राजीनामा दिन लागेका हुन्।